काठमाडौं,
साउन १९ ।
आगामी भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र बेहुलीले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक व्यापार गरेको छ । निर्माण पक्षका अनुसार चलचित्रका प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्णरूपमा बिक्री भइसकेको छ ।
निर्माण कम्पनीले सार्वजनिक गरेको जानकारी अनुसार अष्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व तथा बेलायतजस्ता नेपाली चलचित्रका प्रमुख अन्तर्राष्ट्रिय बजारमा वितरण अधिकार बिक्री भइसकेको हो ।
अष्ट्रेलियामा चलचित्रको प्रदर्शन अधिकार ‘आशिष् एण्ड नमस्ते इन्टरटेन्मेन्ट’ले खरिद गरेको छ । त्यहाँ पनि चलचित्र नेपालकै प्रदर्शन मिति भदौ २६ गतेदेखि रिलिज हुनेछ । उत्तर अमेरिकाअन्तर्गत अमेरिका र क्यानडामा वितरण अधिकार ‘चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसन’ले लिएको छ भने दुबई, कतार, बहराइनलगायत मध्यपूर्वका देशहरूमा ‘साथीभाइ इन्टरटेन्मेन्ट’ले प्रदर्शन गर्नेछ । यी सबै बजारमा चलचित्र भदौ २६ मै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
बेलायतमा भने चलचित्रको प्रदर्शन अधिकार ‘९७७ इभेन्ट्स’ले खरिद गरेको छ । त्यहाँ चलचित्र नेपालभन्दा केही सातापछि, असोज १६ गतेदेखि प्रदर्शन गरिने तय भएको छ । निर्माण पक्षले चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाएको छ । हालसम्म चलचित्रको ‘फर्ष्ट लुक पोष्टर’र पहिलो गीत सार्वजनिक भइसकेको छ । हालै सार्वजनिक गरिएको ‘दिलमा ठाउँछ’ बोलको लोकशैलीको गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ । सार्वजनिक भएको केही दिनमै उक्त गीतले युट्युबमा करिब ३० लाख भ्युज र टिकटकमा करिब ६ लाख भिडियो सिर्जना गरिसकेको छ । चलचित्रका अन्य गीत तथा ट्रेलर भने सार्वजनिक हुन बाँकी छन् ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको बेहुलीमा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुनुहुन्छ । प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रमा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता, दुर्गा खरेल र शिशिर श्रेष्ठ सहनिर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहनुभएको छ ।







