काठमाडौं,
साउन १९ ।
कवि तथा गीतकार उमा श्रेष्ठको कवितासंग्रह ‘मौन छ देश’ र दुई नयाँ गीतको भिडियो एक समारोहबीच सार्वजनिक गरिएको छ । ब्राइड एकेडेमी एण्ड मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न कार्यक्रममा श्रेष्ठकी आमा दिलमाया श्रेष्ठको सभापतित्व तथा वरिष्ठ कवि एवं गीतकार चूडामणि देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष प्रतिमा राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गीतकार तथा पत्रकार सुमन पण्डितले गर्नुभएको थियो ।
कार्यक्रममा ‘मौन छ देश’ कविता संग्रहमाथि समीक्षा गर्दै डा.शैलेन्दुप्रकाश नेपालले कृतिमा नारी संवेदना, देशप्रेम र प्रेमभावलाई प्रभावकारी शब्दशिल्पमार्फत प्रस्तुत गरिएको उल्लेख गर्नुभयो । उहाँले उमा श्रेष्ठ कविता लेखनसँगै गीत लेखन, गायन र संगीत सिर्जनामा पनि सक्रिय र बहुप्रतिभाशाली स्रष्टा रहेको बताउनुभयो । कवि तथा गीतकार उमा श्रेष्ठले कविता र गीतसंगीत सिर्जनाको आफ्नो यात्राबारे अनुभव सुनाउँदै आमाको सभापतित्वमा आफ्ना सिर्जना सार्वजनिक गर्न पाउँदा विशेष खुशी लागेको बताउनुभयो । परिवारबाट प्राप्त साथ र प्रेरणाले सिर्जनात्मक यात्रालाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधानले उमा श्रेष्ठका सिर्जनाले आफूलाई प्रभावित बनाएको उल्लेख गर्दै उहाँका रचनाको प्रशंसा गर्नुभयो । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले श्रेष्ठका सिर्जनाले देशप्रेम, सामाजिक परिवेश र नारी संवेदनालाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको बताउनुभयो । उहाँले गीत लेखन, गायन र संगीत सिर्जनामा पनि श्रेष्ठको यात्रा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि चूडामणि देवकोटाले उमा श्रेष्ठलाई बधाई दिँदै साहित्य र संगीतको क्षेत्रमा उहाँको यात्रा दीर्घकालीन र सफल रहने शुभकामना व्यक्त गर्नुभयो । पारिवारिक सहयोगले सिर्जनात्मक यात्रालाई थप सशक्त बनाएको उहाँको भनाइ थियो ।
कार्यक्रमका संयोजक तथा आइतमाया थेवे स्मृति प्रतिष्ठानका अध्यक्ष अर्जुन थेवेले जागिरे जीवनका अनुभव, सामाजिक परिवेश तथा देशको विगत र वर्तमानका विषयलाई कविता संग्रहमा समेटिएको बताउनुभयो । कार्यक्रममा उमा श्रेष्ठ र अर्जुन थेवेका सुपुत्र आदित्य थेवेको जन्मदिनसमेत केक काटेर मनाइएको थियो ।
सोही अवसरमा सार्वजनिक गरिएका दुई गीतमध्ये ‘नाचौं छमछमी’ तीज गीतमा उमा श्रेष्ठ र सुमित खड्काको स्वर छ भने गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । अर्को गीत ‘ए माया, लाउँछौ कि’मा उमा श्रेष्ठकै शब्द, संगीत र स्वर छ भने सुमित खड्काले स्वरमा साथ दिनुभएको छ । दुवै गीतको भिडियो उमा श्रेष्ठको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।







