अनेसासको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण तथा पद हस्तान्तरण

काठमाडौं,
साउन ८ ।

२१३औं भानुजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास डिसी मेट्रो च्याप्टरको संयोजनमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम अमेरिकाको भर्जिनियामा सम्पन्न भएको छ ।

अनेसासका निवर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा अमेरिकास्थित नेपाली राजदूतावास, वासिंटन डीसीका कार्यवाहक राजदूत शरदराज आरणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्ष, सल्लाहकार, निर्वाचन समितिका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात अनेसास डिसी मेट्रो च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको स्वागत मन्तव्यबाट भएको थियो । त्यसपछि उपस्थित अतिथिहरूले आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए । सो अवसरमा प्राडा.विष्णु घिमिरेले भानुभक्तको जीवन, व्यक्तित्व र नेपाली भाषा–साहित्यमा उहाँले पुर्‍याएको योगदानबारे प्रकाश पार्दै नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्न भानुभक्तले खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्नुभयो ।

महासचिव राजु सिटौलाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष तारा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेले नवनिर्वाचित अध्यक्ष लालगोपाल सुवेदीलाई र निवर्तमान कोषाध्यक्ष तारा अधिकारीले नवनिर्वाचित कोषाध्यक्ष पुष्पा खनाललाई पद हस्तान्तरण गर्नुभएको थियो ।

निर्वाचन आयुक्त डा.मुकुन्द वाग्ले ‘पथिक’ले निर्वाचन समिति संयोजक डा.चूडामणि खनाल र सदस्य अम्बिका लोहनीको उपस्थितिमा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रमुख अतिथि शरदराज आरण, निवर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मा तथा संस्थापक अध्यक्ष होमनाथ सुवेदीले नवनिर्वाचित पदाधिकारीहरूलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको योगदानका लागि निर्वाचन समितिका सदस्यहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष लालगोपाल सुवेदीले अनेसासलाई विश्वभरका नेपाली साहित्यकारहरूको साझा संस्थाका रूपमा अझ प्रभावकारी र सिर्जनशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थापक अध्यक्ष होमनाथ सुवेदी र बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्माले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको गरिमा थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको दोस्रो चरणमा गोमा पोखरेल न्यौपानेको कृतिको विमोचन गरिएको थियो । कृतिमाथि बोर्ड अफ ट्रष्टिजका उपसभापति तीर्थराज पाण्डेयले समीक्षा प्रस्तुत गर्नुभएको थियो भने सुदीपभद्र खनाल, ऋषवदेव घिमिरेलगायत स्रष्टाले कविता तथा साहित्यिक रचना वाचन गर्नुभएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शरदराज आरणले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा अनेसासले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै विश्वभर छरिएका नेपाली स्रष्टाहरूलाई एउटै साहित्यिक मञ्चमा जोड्न संस्थाले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार