काठमाडौं,
साउन ७ ।
तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको प्रसिद्ध कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते हुनुभएकी कलाकार कोपिला थापाको उपचारमा आर्थिक समस्या बढ्दै गएपछि चलचित्र जाँचपास समितिका सदस्य तथा निर्देशक सन्तोष बाबु लोहनीले आर्थिक सहयोग प्रदान गर्नुभएको छ । चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको रोहवरमा निर्देशक लोहनीले गत असार महिनामा नौवटा नेपाली चलचित्रको जाँचपास (सेन्सर) गरेबापत प्राप्त गरेको सम्पूर्ण भत्ता कलाकार थापालाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग हस्तान्तरणका क्रममा निर्देशक लोहनीले आफूले चलचित्र जाँचपासबाट प्रत्येक महिना प्राप्त गर्ने भत्ता आर्थिक अभाव तथा विभिन्न समस्यामा परेका चलचित्रकर्मीहरूको सहयोगमा खर्च गर्ने योजना बनाएको र सो अभियानको सुरुवात कलाकार कोपिला थापाबाट गरिएको बताउनुभयो ।
दुर्घटनापछि लामो समयदेखि उपचाररत थापाको हाल काठमाडौंको हात्तिगौंडास्थित एञ्जल हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ । उपचारका क्रममा आर्थिक भार बढ्दै गएपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । यसैबीच, चलचित्रकर्मीहरूले उपचाररत कलाकार थापाको स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोगका लागि सम्बन्धित निकाय तथा शुभेच्छुकहरूलाई पनि सहयोगका लागि आग्रह गरेका छन् ।






