महिनावारी स्वच्छता दिवसमा साइकल र्‍याली

ललितपुर,
जेठ १५ ।

बाह्रौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी सुरक्षा र स्वच्छताका क्षेत्रमा क्रियाशील संस्था ‘एक्स-पोज नेपाल’को आयोजनामा ललितपुरमा साइकल र्‍याली सम्पन्न भएको छ ।

महिला हिंसा न्यूनीकरण तथा सुरक्षित महिनावारीका क्षेत्रमा कार्यरत उक्त संस्थाले विगत नौ वर्षदेखि निरन्तर रूपमा यस्तो र्‍याली आयोजना गर्दै आएको जनाएको छ ।

ललितपुरको मङ्गलबजारबाट सुरु भएको र्‍याली काठमाडौँको वसन्तपुर पुगेर पुनः मङ्गलबजारमै आएर समापन भएको थियो । र्‍यालीमा करिब ४५० जना महिला तथा पुरुष साइकलयात्रीको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीमध्ये करिब ८० प्रतिशत महिला रहेका थिए ।

आयोजक संस्थाका अनुसार नौ वर्षअघि आयोजित पहिलो र्‍यालीमा ७२ जना सहभागीमध्ये एक जना मात्र महिला रहेकामा यस वर्ष महिला सहभागिता उल्लेख्य रूपमा वृद्धि भएको हो ।

कार्यक्रममा एक्स-पोज नेपालका अध्यक्ष तथा ‘प्याड म्यान’का रूपमा परिचित ज्ञान महर्जनले सुरक्षित महिनावारीसम्बन्धी ज्ञापनपत्र प्रस्तुत गर्दै सीमान्तकृत समुदायको स्वास्थ्य र सुरक्षाका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कृष्णाकुमारी वाइबाले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई मर्यादित र सुरक्षित बनाउन स्थानीय तथा सङ्घीय सरकारले विशेष सहयोग गर्नुपर्ने बताउनुभयो ।

र्‍यालीको समापन समारोहमा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य प्रभा ढकालले महिनावारीलाई सुरक्षित बनाउन परिवारका पुरुष सदस्यहरूको समेत सहभागिता बढ्दै गएको उल्लेख गर्नुभयो । विगतमा लुकाएर स्यानिटरी प्याड किन्नुपर्ने अवस्थाबाट अहिले खुला रूपमा खरिद गर्न सक्ने अवस्था आउनु सकारात्मक परिवर्तन भएको उहाँको भनाइ थियो ।

सुरक्षित महिनावारीसम्बन्धी ज्ञापनपत्र बुझ्दै सांसद ढकालले यस विषयलाई संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, ग्लोबल एक्सन नेपालका अध्यक्ष विके श्रेष्ठले विगत नौ वर्षदेखि प्राकृतिक महिनावारी स्वास्थ्य तथा महिला हिंसाविरुद्ध निरन्तर पैरवी हुँदै आएको उल्लेख गर्दै ज्ञापनपत्रमा समेटिएका विषय जनस्तरका वास्तविक समस्या भएकाले यसको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

साइकल र्‍यालीलाई युनिसेफ नेपाल, ग्लोबल एक्सन नेपाल, च्यारिटी प्याड उद्योग, डिडब्लुडी, जीआईजेट नेपाल, हङ्गर तथा एमएचएमपीए नेपालले सहयोग गरेका थिए । कार्यक्रमको सञ्चालन नवीना श्रेष्ठले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार