६६ दिनमा ‘पाँच पाण्डव’को ‘इन्डक्ल्याप’

काठमाडौं,
जेठ १२ ।

वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘पाँच पाण्डव’को ‘इन्डक्ल्याप’ गरिएको छ । गत चैत २ गतेबाट सुरु गरिएको छायांकन ६६ दिनमा सम्पन्न भएको निर्माण टिमले जनाएको हो । छायांकन सम्पन्न भएको अवसरमा निर्माण टोलीले ‘इण्डक्ल्याप’ लेखिएको केक काटेर उत्सव मनाएको थियो । निर्देशक वसन्त निरौलाले चलचित्र निर्माणमा कुनै सम्झौता नगरी काम गरिएको बताउनुभयो ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ तथा नयाँ पुस्ताका चर्चित कलाकारहरूको अभिनय रहनेछ । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिनुहुनेछ । त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरीलगायत कलाकारहरूको पनि अभिनय छ ।

लेखक सुशील पौडेलका अनुसार चलचित्र सामाजिक कथावस्तुमा आधारित हुनेछ । चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

चलचित्रका अधिकांश दृश्य झापाका विभिन्न रमणीय तथा महत्त्वपूर्ण स्थानमा खिचिएको निर्माण पक्षले जनाएको छ । पाँच पाण्डवमा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ भने छायांकन श्याम तामाङले गर्नुभएको छ । प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार