यस्तो छ ‘पहाड’को टिजर

काठमाडौं,
चैत २ ।

तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’को टिजर सार्वजनिक भएको छ । आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुने उक्त चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ । टिजरमा पीडा, खुशी र विछोड समेटिएकाे छ ।

निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गर्नुभएका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गर्नुभएका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गर्नुभएको छ । चलचित्रलाई प्रमोद प्रधानले छायांकन गर्नुभएको छ । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसक्नुभएका छायांकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका चलचित्रमा सहकार्य गर्नुभएको छ ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउँहुनुहुन्छ । यस्तै, चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हाल्नुभएको छ ।

चलचित्रमा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहनुभएको छ । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहनुभएको छ । उक्त चलचित्रमा भारती घिमिरे क्रिएटिभ निर्माता रहनुभएको छ ।

चलचित्र नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । चलचित्रमा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार