कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा नेपाल सहभागी हुने

काठमाडौं,
फागुन २५ ।

विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक मानिने कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा नेपालले औपचारिक रूपमा सहभागिता जनाउने भएको छ। आगामी मे १२ देखि २३ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने उक्त महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरिएको हो ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच बढाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले महोत्सवमा सहभागिता जनाउन लागेको हो । यस पटक महोत्सवमा बोर्डले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा ‘नेपाल पवेलियन’ नामक विशेष स्टल (बुथ) स्थापना गर्ने जनाएको छ ।

उक्त पवेलियनमार्फत नेपाली चलचित्र, निर्माणाधीन फिल्म परियोजना, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय फिल्म बजारका वितरक, निर्माता, फिल्म फन्ड, फेस्टिभल प्रतिनिधि तथा दर्शकसमक्ष प्रस्तुत गरिनेछ ।

बोर्डका अनुसार महोत्सवमा व्यक्तिगत रूपमा सहभागी हुने नेपाली चलचित्रकर्मीहरूले पनि बोर्डको स्टल साझा गरी आफ्ना फिल्म तथा परियोजनाहरू अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सक्नेछन् । यसले नेपाली चलचित्रलाई विश्व फिल्म बजारसँग जोड्ने महत्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

चलचित्र विकास बोर्डले यस पहललाई नेपाली फिल्म उद्योगलाई विश्व फिल्म मञ्चमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ । साथै, महोत्सवमा सहभागी हुन इच्छुक नेपाली चलचित्रकर्मीहरूलाई बोर्डसँग समन्वय गरी आफ्नो सामग्री प्रदर्शन गर्न आग्रह गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार