महेश र अस्मिताले सक्काए ‘सोलफुल यूएसए यात्रा’

काठमाडौं,
कात्तिक १८ ।

साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीले ‘सोलफुल यूएसए यात्रा’ सम्पन्न गर्नुभएको छ । यो जोडीले अमेरिकाको १५ भन्दा बढी सहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिनुभएको हो ।

‘थ्री ई इन्टरटेन्मेन्ट’ले महेश र अस्मिताको जोडिलाई फिचर्ड गर्दै आयोजना गरेको ‘सोलफुल म्युजिकल यात्रा’ करिब साढे दुई महिना भन्दा बढी चलेको थियो । अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको थियो ।

भर्जिनियाको एसबर्नमा आयोजित बडा दशैँ तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजित मःम फेस्टिभलमा महेश र अस्मिताको युगल जोडीलाई हेर्न १५ हजार भन्दा बढीको सङ्ख्यामा दर्शक उपस्थित भएको आयोजक थ्री इ इन्टरटेनमेन्टका तर्फबाट सुरेश सापकोटाले जानकारी दिनुभयो ।

‘सोलफुल यूएसए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको र दर्शकहरूले महेश र अस्मिताको जोडीलाई निकै रुचाएको आयोजकले बताए । परदेशमा रहेका भएका नेपालीसँग तीज, दशैँ, तिहार जस्तो महत्त्वपूर्ण नेपाली चाडसँगै मनाउँदै प्रस्तुति दिन रमाइलो भएको अस्मिता र महेशको भनाइ छ ।

यसमा तपाइको मत

अन्य समाचार