क्यानाडामा ‘विश्व साहित्य मञ्चमा नेपालको साहित्य’ संगोष्ठी सम्पन्न

काठमाडौं,
भदौ १६ ।

क्यानाडाको क्वान्टलेन पोलिटेक्निकल विश्वविद्यालय र दक्षिण एशियाली साहित्य तथा अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा ‘विश्व साहित्य मञ्चमा नेपालको साहित्य’ शीर्षकक अन्तर्राष्ट्रिय संगोष्ठी तथा कार्यशाला सम्पन्न भएको छ ।

भदौ ११ र १२ गते (अगष्ट २७-२८) दुई दिन चलेको उक्त कार्यक्रममा नेपालको साहित्यका विभिन्न पक्षमा कार्यपत्र प्रस्तुत भएका थिए । विशेषगरी नेपालभाषाका दुई उपन्यास (मल्ल के. सुन्दर) र (कोरोनाया किचलय्) (श्रीलक्ष्मी श्रेष्ठ) लाई केन्द्र बनाएर गरिएको सत्रमा ती कृतिहरूको अन्तर्राष्ट्रिय महत्वबारे छलफल गरिएको थियो ।

संयुक्त राज्य अमेरिकाको पोर्टल्यान्डस्थित रिड कलेजका सहायक प्राध्यापक क्रिटिस राजभण्डारीले यी उपन्यासलाई लिएर नेपालभाषा आख्यान विश्व साहित्यिक क्षेत्रमा कसरी स्थापित हुन सक्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । संसारभरिका विद्वान, लेखक तथा विज्ञहरूले प्रत्यक्ष र अनलाइन दुवै माध्यममार्फत सहभागिता जनाएका थिए ।

आयोजकका अनुसार विश्व साहित्य मञ्चमा नेपालभाषा आख्यानमाथि यसरी अन्तर्राष्ट्रिय स्तरमा बौद्धिक छलफल भएको यो सम्भवतः पहिलो अवसर हो ।

विश्वविद्यालयको समाज विज्ञान तथा मानविकी अनुसन्धान परिषद्को विशेष आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा १२ सत्रमार्फत कार्यपत्र प्रस्तुत भएका थिए । ती सत्रमा मल्लकालीन नेवार साहित्य (ई.स. १२००-१८००), नेवार बौद्ध साहित्य, कविकेशरी चित्तधर हृदयको पौ र यसको अंग्रेजी अनुवाद, साथै नेपाली भाषाको साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन र शकुन्तला, बालकृष्ण समका नाटक, पारिजातको शिरिषको फूल, इन्द्रबहादुर राईको लेखन र शरद पौडेलको लिखे उपन्यासमा आधारित कार्यपत्रहरू प्रस्तुत भएका थिए ।

कार्यक्रममा भएको विचार–विमर्श र कार्यपत्रहरूलाई समेटेर चाँडै नै एक पुस्तक प्रकाशित गर्ने तयारी भएको आयोजक समूहले जनाएको छ।

यसमा तपाइको मत

अन्य समाचार