सिनेमाघरमा ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’

काठमाडौं,
भदौ ६ ।

शुक्रबार प्रदर्शन अन्तर्गत आज भदौ ६ गते शुक्रवारदेखि तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि देशभरका सिनेमाघरमा आएका चलचित्र हुन् ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ ।

ऋषि लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘माग्ने राजा’मा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई (तक्मे बुढा), शारदा गिरी, शिशिर वाङ्देललगायतको अभिनय छ । यसमा आर्यन सिग्देलको पनि विशेष भूमिका छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गर्नुभएको हो । मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता मधुसुदन शर्मा हुनुहुन्छ । ‘माग्ने राजा’ अष्ट्रेलियामा पनि अजैदेखि प्रदर्शनमा आएकोे छ ।

अष्ट्रेलियाका विभिन्न शहरका २५ हलमा यो चलचित्र रिलिज हुनलागेको हो । अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले फिल्म एक सय शोजका साथ रिलिज हुन लागेको जानकारी गराएका छन् ।

यस्तै चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा चलचित्रमा विजय बराल, केकी अधिकारी, भोलाराज सापकोटा, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतका कलाकारको अभिनय छ ।

पेपरक्लिप ब्यानरमा बनेको यस चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुनुहुन्छ । कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुनुहुन्छ ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डिओपी तथा कृष्ण परियार सिनेमेटोग्राफर छन् । कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको हो । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक र तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा तथा आकाश केसी सहायक निर्देशक रहनुभएको छ । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुनुहुन्छ ।

त्यस्तै आजदेखि सिनेमाघरमा आएको चलचित्र ‘ताराहरू’लाई आशान्त शर्माले निर्देशन गर्नुभएको हो । उहाँ स्वयंको मुख्य भूमिका रहेको यो चलचित्रमा मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । निर्देशक शर्माकै कथा रहेको यो चलचित्र वेज प्रा.लि.को प्रस्तुतिमा बनेको हो । चलचित्रका निर्माता गोपिनी शेडाईं र कृष्णप्रसाद पंगेनी शर्मा हुनुहुन्छ । सहनिर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा रहनुभएको छ । सरद महतोले छायांकन गरेको चलचित्रमा विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्स छ ।

यसमा तपाइको मत

अन्य समाचार