आभाले ‘कश्यप’बाट डेब्यु गर्ने

काठमाडौं,
साउन २७ ।

टिकटक ‘स्टार’ आभा ढुंगानालाई ठूलो पर्दामा देख्न पाइने भएको छ । उहाँले चलचित्र ‘कश्यप’बाट डेब्यु गर्न लाग्नुभएको हो । उहँँलाई निर्माण पक्षले सोमबार चलचित्रमा अनुबन्धित गरेको हो । निर्देशक दिनेश जी खड्काले स्क्रिन-टेस्ट र अभिनयको परिक्षण गरेरै आभालाई चलचित्रमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्रमा आभा एक्सन भूमिकामा देखिनुहुनेछ । त्यसका लागि केही दिनदेखि उहाँले एक्सनको प्रशिक्षण लिइरहनुभएको छ ।

‘कश्यप’मा अनुबन्ध भएपछि आभा भन्नुहुन्छ, ‘फिल्मको कथावस्तु, गीत-संगीत र सम्पूर्ण पक्ष उत्कृष्ट बनाउन निर्माण टिमले निकै मिहिनेत गरेको छ । मलाई विश्वास छ, ‘कश्यप’ले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ ।’ टिकटकमा साढे चार लाखभन्दा बढी फलोअर्स हुनुभएकी आभाले यसअघि केही म्यूजिक भिडियोमा अभिनय गर्नुभएको छ ।

‘कश्यप’मार्फत बाल कलाकार रिद्धी खत्रीले पनि चलचित्रमा डेब्यु गर्ने हुनुभएको छ । अडिसनमार्फत छनोट हुनुभएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’को महत्त्वपूर्ण पात्रमा अभिनयको अवसर पाउनुभएको हो । उहाँको अभिनयले चलचित्रलाई नयाँ आयाम थप्ने निर्माण पक्षको विश्वास छ ।

केही महिनाअघि नै चलचित्रको मुख्य अभिनेतामा सविन श्रेष्ठ अनुबन्धित भइसक्नुभएको छ । यसमा उहाँ एक्सन भूमिकामा प्रस्तुत हुने जनाइएको छ । एक्सन, थ्रिलर तथा लभस्टोरी कथामा निर्माण हुन लागेको चलचित्रको छायांकन साउन अन्तिमबाट सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । यसमा निर्देशक खड्का स्वयंको कथा छ ।

यसमा तपाइको मत

अन्य समाचार