काठमाडौं,
साउन ५ ।
‘मेरी ओकिली’, ‘झ्याबाट हेर’ जस्ता चर्चित गीतमार्फत ९० को दशकमा लोकप्रिय बन्नुभएका गायक अनिस ‘ओकिली’ सापकोटा नेपाली सांगीतिक क्षेत्रमा नौलो नाम होइनन् । नेपाली-अमेरिकी गायक, संगीतकार तथा निर्माता ओकिलीले दुई दशकभन्दा बढी समयदेखि दक्षिण एशियाली र विश्वसंगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएको छ । पेशागत रूपमा ‘ओकिली’ नामले चिनिने उहाँ हाल अमेरिकाको क्यालिफोर्नियाको स्याक्रामेन्टोमा बस्दै आउनुभएको छ ।
गायक ओकिलीले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गर्नुभएको छ । गीतको शब्द, संगीत गायक ओकिलीकै छ । तीन महिनाको मिहिनेतपछि तयार गरिएको उक्त गीत पपरसफ्ट रक विधामा आधारित रहेको छ, जसमा मायाको गहिरो भाव समेटिएको छ ।
गीतको भिडियोमा ओकिली आफैँले अभिनय गर्नुभएको छ । साथमा मोडल एरिशा श्रेष्ठ पनि देखिनुभएको छ । भिडियोको छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन गायक तथा संगीतकार जेम्स प्रधानले गर्नुभएको हो । अमेरिकाको रमणीय दृश्यमा खिचिएको भिडियो दर्शकको ध्यान तान्ने विश्वास ओकिलीले व्यक्त गर्नुभएको छ ।
‘मैले सधैं नेपाली समुदायका लागि संगीत सिर्जना गरिरहेको छु । यसपटक भिडियोमा आफैं प्रस्तुत हुनु नयाँ अनुभव रह्यो’, उहाँले भन्नुभयो । निर्देशक जेम्स प्रधानले गीतको भाव अनुसार उहाँ स्वयंलाई अभिनयका लागि प्रस्ताव गर्नुभएको थियो, जुन अनुभव ओकिलीका लागि विशेष रह्यो ।
यसपटक ‘स्वर्ग मेरो’ सिङ्गल ट्रयाकका रूपमा सार्वजनिक गरिएको हो । अघिल्लो गीतिसंग्रह रिदम काठमाडौं पछि एकल गीत ल्याउन सजिलो र प्रभावकारी हुने विश्वाससहित यो गीत सार्वजनिक गरिएको हो । गीतको संगीत संयोजन जेनरिक्सले गर्नुभएको छ ।
‘मेरा सबै गीतहरू एकै ठाउँमा भेटियोस् भनेर आफ्नै युट्युब च्यानलमार्फत गीत ल्याएको हुँ,’ ओकिलीले बताउनुभयो । उहाँले नयाँ पुस्तालाई आफ्नो सांगीतिक यात्रा बुझाउन पनि युट्युब माध्यमलाई रोजेको बताउनुभयो ।
सन् १९९० तिर नेपालमा ‘ओकिली’ ब्यान्डका संस्थापक सदस्यका रूपमा संगीत यात्रा सुरु गर्नुभएका उहाँले ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिमी नै राम्री’, ‘तिम्रो बानी ब हो’ जस्ता थुप्रै चर्चित गीतमार्फत दर्शक श्रोताको मन जित्नुभएको छ । पछिल्लो गीत ‘सिमला भुवा’ समेत निकै लोकप्रिय भएको थियो ।
संगीत र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानका लागि उहाँलाई नोबेल पुरस्कार विजेता डा. चार्ल्स टाउन्सबाट ‘युथ अचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिएको छ । दुई दशकभन्दा बढीको संगीत यात्रामा निरन्तर सक्रिय ओकिली नयाँ सिर्जना र प्रयोगमार्फत नेपाली संगीतमा आफ्नो पहिचान अझ गहिर्याउँदै हुनुहुन्छ ।






