आजदेखि नववर्ष २०८२ प्रारम्भ

काठमाडौं,
वैशाख १ ।

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता, असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । यसदिन बिहानै नुहाउने, घरकोठा-आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । आजको दिन अघिल्लो वर्ष पूरा नभएका सङ्कल्पको समिक्षा तथा नयाँ वर्षमा नयाँ सङ्कल्पसमेत गरिन्छ ।

आफूले गरेका नयाँ सङ्कल्पमा सफलता मिलोस् भन्दै एकअर्कामा शुभकामना व्यक्त गर्ने र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज वर्षको पहिलो दिनलाई स्वागत गरिन्छ । आजको दिन नयाँ कामको थालनिसमेत गर्ने परम्परा रहिआएको छ ।

विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक संवत्का रुपमा विक्रम संवत् चलिआएको हो । यो संवत् नेपालमा मात्र मानिने संवत् हो । नयाँ बर्षको यो अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना ।

यसमा तपाइको मत

अन्य समाचार