काठमाडौं,
फागुन २३ ।
आगामी चैत ८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘११ः५५’ (डु नट ट्रष्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएकोे छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले मानिसहरू आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई देखाउन खोजिएको छ । साढे तीन मिनेट लम्बाइको ट्रेलरमा विवाहेत्तर सम्बन्ध र सम्पत्तिका लागि भएको धोका, षड्यन्त्र र अपराधलाई केन्द्रमा राखिएको छ । पाँच मुख्य कलाकारलाई चलचित्रको ट्रेलरमा रक्तिम अवतारमा प्रस्तुत गरिएको छ । ट्रेलरमा सहरिया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपूर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृत्ति यी पात्रहरूमा रहेको संकेत गरेको छ ।
लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण सिनेमाको ट्रेलरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको यो केशव पाण्डेको डेब्यु निर्देशकीय रहेको यो चलचित्रमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी, डेब्यु अभिनेता सागर खनाल लगायतका कलाकारको अभिनय छ । चलचित्रमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
चित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ भने कार्यकारी निर्मातामा एमएस अग्रज हुनुहुन्छ । चलचित्रलाई कुवेर सिने डिष्ट्रिब्युसन प्रालिले वितरण गर्नेछ ।






