‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ बाट सुशीला ढकाल सम्मानित

भूमिकला पौडेल
काठमाडौं, १४ माघ ।

शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ बाट सुशीला ढकाललाई सम्मानित गरेको छ । शब्दयात्रा प्रकाशनद्धारा काभ्रेको बनेपामा शनिबार आयोजित पुरस्कार सर्मपण तथा पुस्तक सार्वजनिकरण समारोह को अवसरमा उहाँलाई सो पुरस्कार समर्पित गरिएको हो । स्याङ्जा जिल्लामा जन्मिनुभएकी ढकाल दुवै हात नभएता पनि लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गर्नु भई हाल आन्तरिक राजस्व कार्यालय टंगालमा राजस्व अधिकृत पदमा कार्यरत हुनुहुन्छ । सुशीला ढकाललाई नेपालको निजामती प्रशासनमा सङ्घर्षशील र प्रेरक महिलाका रूपमा चिनिन्छ । सो पुरस्कारको कोष व्यवस्थापन पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो ।

शब्दयात्रा प्रकाशनले सोही अवसरमा अन्य पाँच जना व्यक्तित्वहरूलाई पनि २०८० सालको विभिन्न पुरस्कारहरू समर्पण गरेको छ । जसमा शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार बाट मानवशास्त्री तथा समाजशास्त्री प्राडा प्रेमकुमार खत्री, शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ संखुवाासभा प्रतिभा पुरस्कार बाट महाकाव्यकार सोमराज अभय, शब्दयात्रा नारायणी-शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार बाट योगप्रशिक्षक डा. चिन्तामणि गौतम, शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार बाट लेखक तिलक प्रकाश र शब्दयात्रा लीला-मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार बाट संस्कृतिकर्मी विश्व उलक सम्मानित हुनुभएको छ ।

समारोहमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित तीन पुस्तकहरूको सार्वजनिकरण गरिएको थियो । ती पुस्तकहरूमा साहित्यकार ज्ञान उदासद्वारा लिखित कथासङ्ग्रह ‘तोपको आवाज’, साहित्यकार केदारनाथ तिमल्सिनाद्वारा लिखित कथासङ्ग्रह ‘तीस कथा’ र प्रेमकुमार कर्माचार्यद्वारा लिखित पुस्तक ‘मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर’ रहेका छन् ।

प्रा. केदारनाथ श्रेष्ठको सभापतित्वमा आयोजित उक्त समारोहको प्रमुख आतिथ्यता अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार