काठमाडौं,
पुस ८ ।
जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीत सार्वजनिक भएको छ । सञ्जीवनी र सौरभ दासको स्वर, शिखर सन्तोषको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आनन्द अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा ज्योति खड्का, सुमन अधिकारी र योदिश न्यौपानेको अभिनय छ ।
साहित्यिक नाम दुबसु क्षेत्रीका रूपमा परिचित राजदूत सुवेदीका गीत, कविता, गजल जस्ता दर्जनौं साहित्यिक सिर्जना यसअघि पनि सार्वजनिक भइसकेका छन् । सन् २०१६ देखि सन् २०२२ सम्म बेलायतको २०औं राजदूतको भूमिका निर्वाह गर्ने क्रममा बेलायतको कला, साहित्य र गीतसंगीतको क्षेत्रलाई निकै मलजल गर्नुभएको थियो ।
सुवेदीको संयोजन र सम्पादनमा ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका थिए । त्यसो त उहाँको आफ्नै आवाजमा अडियो बुक रेकर्ड गर्नुभएको छ ।






