काठमाडौं,
मंसिर १९ ।
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको उल्लेख गरेको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।






