काठमाडौं,
भदौ २८ ।
युवाकवी मोतीराम भट्टको जन्मजयन्ती आज विविध कार्यक्रमबीच मनाइँदैछ । साहित्यकार तथा साहित्यीक प्रतिष्ठानहरूले उहाँको ब्यक्तित्व तथा कृतित्वमाथी विश्लेषण गर्दैजन्मजयन्ती मनाउँदै छन् ।
राष्ट्रिय विभूतिसमेत रहनुभएका मोतीरामको वि.सं.१९२३ भाद्र कृष्ण औशी अर्थात कुशे औँशीकै दिन जन्म भएको थियो । नेपाली गजलका महानायक मानिनुभएका भट्टको कथा, नाटक, निबन्ध पनि कलम त्यत्तिकै बलियो रहेको छ ।
कुशे औँसीका दिन जन्मिनुभएको उहाँको वि.सं.१९५३ कुशे औसीकै दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो । श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर उहाँले गजल रचना गर्नुभएको छ ।
युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो । उहाँको साहित्य रचना मात्र नभई पत्रकारितामा पनि हात चलेको पुराना साहित्यकारहरू बताउछन् । उहाँले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नुभएको थियो ।
नेपाली साहित्यमा कविता, काव्य, नाटक, पत्रकारिता, जीवनी, गजल, संवाद र सम्पादन विधामा कलम चलाउनुभएका मोतीरामका प्रकाशित कृतिहरू क्रमशः मनोद्वेग(प्रवाह, गजेन्द्रमोक्ष, पञ्चक प्रपञ्च, प्रल्हाद भक्तिकथा, गफाष्टक, उषाचरित्र, तीजको कथा, उखानको बखान, गुलसनाबेर, वालाजी वर्णन, चाणक्य नीति, कमल भ्रमर संवाद, काशीराज चन्दसेन, सङ्गीत चन्द्रोदय, स्वप्नाध्याय, प्रियदर्शिका, पिकदूत, कालमहिमा, शकुन्तला, कविसमूह वर्णनम् र कवि भानुभक्तको जीवनचरित्र रहेका छन् ।
कवि मोतीरामले भानुभक्तीय रामायणको पनि अनुवाद सम्पादन गर्नुभएको छ । यसका साथै मोतीरामका दुई दर्जनभन्दा बढी फुटकर कविताहरू रहेका छन् भने गजल र गीतको पाटो त्यत्तिकै बलियो छ ।






