प्रतिनिधिसभाको निर्वाचन पछि संघीय संसदको पहिलो अधिवेशन आज बस्दै

काठमाडौं,
पुस २५ ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदका प्रतिनिधित्व रहेको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एकरएक तथा स्वतन्त्र पाँच सांसद् छन् ।

यसमा तपाइको मत

अन्य समाचार