‘दि सिक्रेट्स अफ राधा’ लिएर आउदै बिक्की

काठमाडौं,
साउन ३० ।

लामो समयदेखि बेलायतमा बस्दै आइरहे तापनि नेपाली चलचित्र अभिनय तथा निर्माणमा निरन्तर सक्रिय नाम हो- विक्रम डि जोशी (बिक्की) । नेपाली चलचित्रको गुणस्तरिय बिकास, स्तरोन्नतीका साथै अन्तर्राष्ट्रिय बजार बिस्तारका लागि अहोरात्र खटिइरहेका अभिनेता तथा निर्माता जोशी पुनः एक पटक दर्शकमाझ आउदैछन्, भदौ १० गते ‘दि सिक्रेट्स अफ राधा’ लिएर ।

यसअघि ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ फिल्ममार्फत अभिनेताका रुपमा दर्शकमाझ आफ्नो बेग्लै परिचय दिएका बिक्की यसपाली भने निर्माताका रुपमा मात्रै प्रस्तुत भएका छन्, ‘राधा’ मा । सुवर्ण थापा निर्देशीत ‘राधा’ निर्माणमा बिक्कीका साथमा अभिनेता सौगात मल्ल, निर्देशक सुवर्ण र बिरञ्जना इन्टरटेन्मेन्टबाट सृजना जोशी महर्जनले ‘टिम अप’ गरेका छन् ।

नारी शक्तिको बिषयमा प्रस्तुत गरिएको फिल्मबाट बिक्की निकै आशावादी छन् । ‘हामीले निकै मिहीनेतका साथ ‘राधा’ निर्माण गरेका छौ,’ उनी भन्छन्, ‘दर्शकलाई भरपुर मनोरञ्जनका साथमा केही सकारात्मक सन्देश प्रस्तुत गर्ने जमर्काे स्वरुप ‘राधा’ बनेको हो ।’

आफू यसपाली पर्दामा नदेखिए पनि निर्माताका रुपमा भने उत्तिकै सक्रियतापूर्वक लागीरहेको उनी बताउछन् । सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल,निश्चल बस्नेत, खगेन्द्र लामीछाने, बुद्धि तामाङ, मेनुका प्रधान, लोकेन्द्र लेखक, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक सुवर्णकै लेखन रहेको फिल्म चित्लाङ र काठमाडौमा खिचिएको हो । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको छाँयाकार नरेन्द्र मैनाली हुन् ।

अहिले चल्तीमा रहेका थुप्रै कलाकारलाई एउटै फिल्ममा समेट्न त्यत्ति सहज नभए तापनि स्क्रिप्टको माग र दर्शकको मनोरञ्जनका लागि राम्रै लगानी र परिश्रम खर्च गरेका निर्माता बिक्की ‘राधा’ ले दर्शकमाझ आफ्नो छाप छोड्नेमा बिश्वस्त छन् । महारानी इन्टरटेन्मेन्ट युके, बिरञ्जना इन्टरटेन्मेन्ट्स, आदियोगी भिजन, मन्डला अनलाइन र एमी फिल्मस्को संयुक्त निर्माणमा बनेको हो यो चलचित्र ।

यसमा तपाइको मत

अन्य समाचार