उपसभामुखमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौं,
असार ३० ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले संसद् सचिवालयमा पुगेर उपसभामुखका लागि मनोनयन दर्ता गराउनुभएको हो ।

भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गर्नुभएको थियो । सोहीअनुसार कांग्रेस नेतृ भुसालले मनोनयन दर्ता गराउनु भएको हो ।

भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी रहनुभएको छ । प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन ।

दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको छ । यो संसदको कार्यकाल मात्र चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

यसमा तपाइको मत

अन्य समाचार