काठमाडौं,
चैत १० ।
चीनका विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले उहाँ आज अपराह्न ४ बजे विशेष विमानमार्फत काठमाडौँ आइपुग्ने जनाएको छ । भ्रमणका क्रममा विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
पाकिस्तानबाट अफगानिस्तान पुग्नुभएका वाङ नेपालबाट सोमबार स्वदेश फर्कने कार्यक्रम छ । भ्रमणले दुई देशको सम्बन्धलाई थप सुदृढ पार्ने विश्वास दुबै देशले लिएका छन् ।
चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलाई लिएर गृहमन्त्री बालकृष्ण खाँणले आवश्यक सुरक्षा गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार बसेको सुरक्षा समितिको बैठकमा उनले सुरक्षा निकायका प्रमुखहरूलाई आवश्यक सुरक्षा सर्तकता अपनाउन आदेश दिएका छन्।






