काठमाडौं,
असोज १८ ।
यहि असोज २६ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘डाँडाको बर पीपल’को ट्रेलर सार्वजनिक गरिएको छ । शोभित बस्नेत निर्देशित उक्त चलचित्रको आइतवार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा जातको कारण सलोन बस्नेत र रुविना थापाको प्रेममा उत्पन्न समस्यालाई देखाउन खोजिएको छ । चलचित्रमा सलोनले सार्की परिवारमा जन्मिएको युवकको भूमिका निर्वाह गर्नुभएको छ । निर्देशक बस्नेतले चलचित्रमा शिव श्रेष्ठ र गौरी मल्ललाई बर र पीपलको जोडीको रुपमा प्रस्तुत गर्नुभएको छ । चलचित्रमा भुवन केसी आर्थिक रुपमा सम्पन्न गाउँको मान्यगन्य व्यक्तिको भूमिकामा रहेको ट्रेलर हेर्दा अनुमान गर्न सकिन्छ । चलचित्रमा नवराज गिरीको लगानी रहेको छ ।
चित्लाङ र काठमाडौंमा छायांकन भएको यस चलचित्रमा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, सुशान्तकुमार श्रेष्ठ, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ भने नवराज गिरीको कथा, रामकाजी घिमिरेको स्क्रिप्ट, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ । चलचित्रमा भुवन केसी र शिव श्रेष्ठले १६ वर्षपछि एकसाथ काम गर्नुभएको हो ।






