काठमाडौं,
भदौ २ ।
शनिबार थप एक हजार ६६ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको आठ हजार ५४० पिसिआर र दुई हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या सात लाख ८३ हजार ९१० पुगेको छ । कुल संक्रमितमध्ये २५ हजार ८२ सक्रिय संक्रमित छन् ।
सक्रिय कोरोना संक्रमित मध्ये २३ हजार ६३६ जना होम आइसोलेसन र एक हजार ४४६ जना संस्थागत आइसोलेसनमा छन् । देशका विभन्न अस्पतालका आइसीयूमा ३८९ र भेन्टिलेटरमा १२१ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै शनिबार थप एक हजार २३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या सात लाख ४७ हजार ८०० पुगेको छ ।
थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।
मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ९.३ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.४ प्रतिशत छ ।






