थप १६सय ६४ जनामा कोरोना संक्रमण, १७ सय ८६ संक्रमणमुक्त, २० को मृत्यु

काठमाडौं,
भदौ १५ ।

मंगलबार थप एक हजार ६६४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नौ हजार ११७ जनाको पिसिआर परीक्षणमा एक हजार ५२३ र तीन हजार १०५ जनाको एन्टिजेन परीक्षणमा १४१ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ६२ हजार ६४७ पुगेको छ । मंगलबार संक्रमण पुष्टि हुने दर १३.६१ प्रतिशत छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ । जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा छन् भने दुई हजार ३७७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

थप एक ७८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सात लाख १६ हजार ३०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार कोभिड-१९ संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार ७५० पुगेको छ । मृत्युदर १.५ प्रतिशत छ ।

यसमा तपाइको मत

अन्य समाचार