देशभर वर्षा, नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं,
असार १९ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा शुक्रबार मध्यरातिदेखि वर्षा भइरहेको साथै मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको जनाएको छ ।

महाशखाले आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना र प्रदेश २ र वाग्मती प्रदेशका एक दुइ स्थानमा ‘धेरै भारी’ बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच इलाम, झापा, मोरङको धेरै स्थानमा भारी वर्षा भइरहेकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा, रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने भएकाले आज रातिसम्म नै सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।  केन्द्रका अनुसार रौतहट कर्मैया (पधेरादोभान) स्थित वाग्मती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । तनहुँको बिमलनगरस्थित मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीले सतर्कता तह पार गरेकाले आसपासका क्षेत्रका उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार