काभ्रेपलान्चोक,
जेठ १९ ।
एमालेका युवा नेता, समाजसेवी तथा व्यवसायी रत्नकुश रंजितले कोभिड–१९ को प्रभावले समस्यामा परेकाहरूलाई आफ्नो निवास बाट खाद्यान्न सहयोग गर्ने सुरु गर्नुभएको छ भने कोही लाई नगद सहयोग समेत गर्नुभएको छ ।
बनेपा र बनेपा नगर क्षेत्र आसपासमा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुभएको हो । बनेपा नगर क्षेत्र भित्र जनागाल, भैंसेपाटी नयाँबस्ती र अन्य ठाउँमा बसोबास गर्दै आएका श्रमिक, अपाङ तथा जेष्ठ नागरिकहरूलाई दाल, चामल, तेल, नुन, साबुन, चिनी, चिउरा, दामोट र मस्यौरा लगायतका सामान आफ्नो निवासबाट नै वितरण गर्नुभएको छ ।
कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएका करिब ५०० परिवारलाई खाद्यान्न र नगद वितरण गर्ने लागेको उहाँले जानकारी गराउनुभयो ।
भैसिपाटीबाट हिँडदै आएका एक ५५ वर्षका महिला सुशीला पराजुलीको समस्य सुनेपछि आफूले नगद नै सहयोग गरेको र मनमा सन्तुष्ट मिलेको स्मरण गराउदै उहाँले बन्दा बन्दीको नियम पालन गरि दैनिक गुजारा गर्ने गाह्रो परेका परिवारहरूको जो कोही सदस्य आए पनि खाली हात फर्किनु नपर्ने बताउनुभयो ।
कोरोनाको जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा पनि उहाँले नगरपालिका लाई आइसोलेसनको लागि २० वटा बेड दिनुभएको थियो भने दैनिक ज्यालादारी गरेर खाने परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको थियो । उहाँले मास्क, स्यानिटाजरलगायत समाजिक अभियानसमेत सञ्चालन गर्नुभएको थियो ।






