काठमाडौं,
जेठ १८ ।
विद्यालय तहको निर्णायक परिक्षा एसईई यो वर्ष पनि नहुने भएको छ । सरकारले यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसईई आन्तरिक मुल्यांकनकै आधारमा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
परीक्षा गर्न अनुकूल नरहेकाले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीको मूल्यांकन गर्न माध्यमिक शिक्षा परीक्षा बोर्डलाई निर्देशन दिने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले बताएका हुन् ।
यसअघि शिक्षा मन्त्रालयको बैठकले गत वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।
गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो ।






