काठमाडौं,
वैशाख २० ।
आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘सार्वजनिक सम्पातिका रुपमा सूचना’ नारासहित यो दिवस मनाइँदैछ । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघले भर्चुअल माध्यमबाट कार्यक्रम गर्दैछ । बिहान ९ बजे भर्चुअल कार्यक्रम हुने महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभयो । विगतका वर्षहरुमा प्रभातफेरी, विभिन्न अन्तरक्रियात्मक कार्यक्रम हुदै आएकोमा यो वर्ष कोरोना महामारीका कारण भर्चुअलमा सिमित हुने भएको हो ।
कोरोना संक्रमणका कारण सामूहिकरूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नभएपछि महासंघले भर्चुअलरूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको महासंघले जनाएको छ । अन्तरक्रियाकै क्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक हुँदैछ ।
प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता सेनानी एवम् पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूलाई सम्मान गर्दै यो दिवस विश्वभरि मनाइन्छ । फाइल फोटो






