✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
माघ ३० ।
वि
श्वव्यापी फैलिएको कोरोनाका भाइरस (कोभिड१९)का कारण नेपाली अर्थतन्त्रले नराम्रो धक्का बेहोर्नु परेको पर्यो । उद्योग, कलकारखाना र व्यापार व्यवसाय लामो समय सम्म बन्द हुन पुगे । अहिले बन्द रहेका यी उद्योग, कलकारखाना र व्यवसाय सामान्य अवस्थामा फर्किने कसरत गर्दैछन् । केही मात्रमा सञ्चालनमा आएका उद्योग कलकारखानाले आफ्ना कर्मचारी कटौती गरेको देखिन्छ । जसले गर्दा लाखौँ श्रमिकहरू बेरोजगार भएका छन् ।
हाम्रो देशमा बेरोजगारी सख्याको डरलाग्दो अवस्था सृजना भएको छ । जसले गर्दा सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको सपना अधुरो हुने हो की भन्ने चिन्ता बढेर गएको छ । त्यसैले सरकारी निकाय तथा निजी क्षेत्रले समयमै स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो । विश्वका कुना कुनामा छरिएर रहेका नेपालीहरू कोभिडको कारण रोजगारी गुमेर स्वदेश फर्किएका छन् । तर, उनीहरूलाई स्वदेशमा आफ्नो श्रम र सीपको सदुपयोग गर्ने वातावरण बनि सकेको छैन । त्यस्तै, स्वदेशमा भएका युवायुवतीहरू विरक्तिएर आज पनि भारतका विभिन्न कुना कुनामा पेट पाल्नकै लागि श्रम गर्न बाध्य छन् ।
कोरोनाको प्रभावसँगै आर्थिक, भौतिक, सामाजिक र आम मानिसको मनोविज्ञानमा ठूलो असर गरेको छ । अहिले विस्तारै आममानिसको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छन् । मानिसलाई बाँच्नका निम्ति गास, बास र कपास अत्यावश्यक बस्तु हुन । यि कुराको जोहो गर्न रोजगारी चाहिन्छ । देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ । रोजगार गुमाएका आम श्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपायखोज्नु पर्ने जरुरी देखिएको छ ।
जुन देशमा जनशक्तिको अभाव हुन्छ त्यो देशको उत्पादनमा कमी आउँछ । यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो । देशमा भएका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गर्नुपर्छ । नेपालमा भएका जनशक्तिको सदुपयोग गरेर सरकारले फाइदा लिन सक्नुपर्छ । सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा ध्यान दिनुपर्छ ।
अहिले स्वदेशमा दक्ष जनशक्तिको अभाव छ । पर्यटनको ठूलो सम्भावना रहेको नेपालमा पर्यटकीय स्थल विस्तारमा जोड दिँदा राम्रो हुन्छ । त्यसैगरी कृषि वा पशुपालनमा युवाहरूलाई आकर्षित गर्ने खालका योजना तर्जुमा गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले स्वदेशमा नै प्राविधिक शिक्षाको विस्तार गर्नुपर्छ । प्राविधिक शिक्षाले केही हदसम्म रोजगारीको सुनिश्चिता गर्छ ।
जसरी सरकारले तत्काल कोरोनाविरुद्धको खोप नेपाल भित्राएर उदाहरणीय काम ग¥यो । यो नेपाल र नेपाली जनताको लागि खुसीको कुरा हो । कोरोना विरुद्धको खोपले आम नागरिकमा एक खालको आशा जगाएको छ । अब सरकारले माथि उल्लेखित कुरामा ध्यान दिएर अघि बढेमा देश र जनताको हित हुनेछ ।






