गायक एसपी बालासुब्रमण्यमको निधन

काठमाडौं
आश्विन ९ ।

दक्षिण भारतीय तथा हिन्दी फिल्मका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा चेन्नईको एक अस्पतालमा निधन भएको छ । अभिनेता सलमान खानले अभिनय गरेका प्रायः फिल्मका गीतमा उहाँको स्वर सुन्न सकिन्थ्यो । सलमानले फिल्म क्षेत्रमा भर्खर पाइला चाल्दै गर्दा उहाँले अभिनय गरेका ती फिल्ममा एसपीकै स्वर हुन्थ्यो । धेरैले एसपीको स्वरलाई सलमानको स्वर ठान्दथे ।

उहाँले ‘मैने प्यार किया’को गीत होस् या ‘साजन’, ‘हम आप के है कौन’ जस्ता फिल्मका गीतमा एसपीको स्वर थियो । शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘चेन्नइ एक्सप्रेस’को शीर्ष गीतमा पनि उहाँकै स्वर थियो ।

९० दशकदेखि लिएर नयाँ शताब्दीका गीतसम्म एसपीको स्वर थियो । उहाँले सन् १९८१ मा रिलिज चलचित्र ‘एक दुजे के लिए’का लागि पहिलो हिन्दी फिल्मको गीत गाउनु भएको थियो । यसपछि उहाँले ‘सच मेरे यार हे’, ‘ओ मारिया’, ‘दिल दिवाना’, ‘कबूतर जा जा’, ‘देखा हे पेहली बार’, ‘तुमसे मिल्ने कि तमन्ना है’ जस्ता गीतमा स्वर दिनुभएको थियो । ‘आजा शाम होने आई’ होस् या ‘मेरे रंग में रंगने वाली’, ‘दिदी तेरा देवर दिवाना’, ‘पहला पहला प्यार है’लगायतका गीतमा पनि उहाँको स्वर सुन्न सकिन्थ्यो । एसपी मोहम्मद रफीका ठूला फ्यान हुनुहुन्थ्यो । ‘म साइकलमा कलेज जान्थें । रफीको गीत हुन्थ्यो दिवाना हुआ मौसम । कैयौं पटक यो गीत सुन्न म बाटोमा रोकिन्थें’, उनले एक अन्तरवार्तामा भन्नुभएको थियो ।

हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा गीत गाउन पोख्त उनले ६ वटा नेशनल अवार्ड जित्नुभएको छ । कमल हासन, रजनीकान्त, एमजीआरदेखि लिएर सलमान र शाहरुखजस्ता स्टारका लागि उहाँले गीत गाउनुभएको थियो । शुरुवाती दिनमा उहाँ एक साङ्गीतिक समूहको हिस्सा हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

अन्य समाचार