काठमाडौं,
कात्तिक ८ ।
नेपालीहरूको महान् चाड बडादसैंलाई आज कोजाग्रत पूर्णिमासँगै बिदाइ गरिँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ ।
धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बसी महालक्ष्मीको पूजा गरे घरमा सुख, समृद्धि र धनधान्य प्राप्त हुन्छ। यस दिनलाई कौमुदी पूर्णिमा पनि भनिन्छ ।
विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आजै समाप्त हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकीसम्म देवीको प्रसादका रूपमा दसैंको टीका र जमरा लगाउन सकिनेछ । बिहानै दसैंघरका फूल, प्रसाद र जमराका अवशेष नदी, तलाउ तथा पोखरीमा विसर्जन गर्ने परम्परा छ ।
कोजाग्रत पूर्णिमासँगै बडादसैंको औपचारिक समापन हुने र तिहारको तयारी सुरु हुने मानिन्छ । भोलिदेखि कात्तिक स्नान, आकाशदीप दान तथा घरघरमा तुलसी पूजा गर्ने परम्परा पनि सुरु हुन्छ ।







