✍️हेमराज अधिकारी/तुमिन, पूर्व सिक्किम
एकजना वृद्ध मानिस रेल्वे स्टेशनमा आफ्नो रेल गाडी पर्खिरहेका थिए । उनले समय हेरे अझै एक घन्टा समय पर्याप्त थियो रेल आउन । प्लेटफार्मको भुइँमा एउटा खबर कागज ओच्याएर बसे औ झोलाबाट श्रीरामचरितमानसको पुस्तक निकाल्दै पढ्न थाले । प्लेटफार्ममा अनेकौं यात्रीहरुको घुइँचो लागेको थियो । कोही यता कुदिरहेका कोही उता कुदिरहेका । वृद्ध मानिसले यस्तो भिडभाडमा पनि एकाग्र चित्तले पढेको देखेर कोही छक्क पर्थे त कसैलाई तमासाको दृश्य भइरहेको थियो । आजकलको युगमा पनि के गरेको होला भनेर केही उरन्ठेउलाहरू खिसिटिउरी गर्थे । कोही आस्था र बिश्वासमा बाँचेकाहरू वृद्धको पाउ छुन्थे, कोही पुस्तक ढोग्दै हिड्थे ।
स्टेशनमा आफ्नो गाडी पर्खिरहेको एउटा युवकले वृद्धलाई अघिदेखि हेरिरहेको थियो । उसले वृद्धको छेउमा आएर भन्यो, ‘के हो बाजे के पढेको ? आजको युगमा कमसेकम टाइम्स अफ ईन्डिया पढ्नु, कि द टेलिग्राफ पढ्नु, कि त गुगल सर्च गरेर आफ्नो रेलगाडीको लोकेसन पत्तो लाउनु, फेस्बुक हेर्नु, केको यो जमानामा पनि यस्तो सत्ययुगको पुस्तक पढेको ?’ वृद्धले केही बोलेनन् । एकैछिनमा रेलगाडी आयो । मानिसहरुको कोलाहलमय हल्ला सुरू भयो । ओर्लिने र चढनेहरुको भिड लाग्यो । वृद्ध मानिस आफ्नो बग्गिमा अघिल्लो ढोकाबाट चडे । ऊनी होशियारी थिए । आफ्नो सिटमा पुगे । रेलगाडी हिँड्न थाल्यो ।
यतिकैमा त्यहीँ बग्गिको पछिल्लो ढोकामा कुनै यात्रीहरु रोएको आवाज आयो । महिला–पुरुष दुवै रोएको सुनियो । वृद्धले यसो चस्मा उचाल्दै हेरे त्यहीँ युवक रहेछ जो अघि प्लेटफार्ममा वृद्धलाई खिसी गर्ने । वृद्ध कुद्दै गएर युवकलाई सोधे, ‘के भयो ? तिमी किन रोएको ?’ युवकले रुँदै वृद्धलाई भन्यो, ‘बाबुजी मेरो पत्नी स्टेशनमै छाडिन । उनी चढिन भन्ने सम्झेँ तर गाडी हिड्यो । लौननी अब के गर्ने ? उनी बर्बाद हुने भइन, उनीसँग पैसा पनि छैन ।’
वृद्धले लामो श्वास तान्दै भने, ‘तिमीले त्यो टाइम्स अफ ईन्डिया, द टेलिग्राफ, गुगल, फेस्बुक नहेरी सिधै श्रीरामचरितमानस – रामायण हेरेको भए धेरै ज्ञानका कुरा सिक्ने थियौ । भगवान श्रीरामले जगत जननी सीतालाई बिमानमा चढनु अघि, अगाडि लगाएका थिए । अयोध्याबाट बनवास जाँदा पनि सितालाई अगाडि लगाएका थिए । बनवासबाट अयोध्या आउँदासमेत सीता अगाडि थिइन । आफ्नो पत्नीलाई अघि लगाएको भए आज तिम्रो यो गति हुने थिएन । बिनाश काले बिपरित बुद्धि ।’ वृद्धको कुरा सुनेर युवक छाती पिटि पिटी रुनु थाल्यो । अघिल्लो स्टेशनमा युवक उत्रियो । वृद्धले फेरि श्रीरामचरितमानस पल्टाउन थाले ।






