ब्राण्डलाई अझ उचाईमा पुर्‍याउने सोच छ – नील डेभिड

सेलिब्रेटी हेयरस्टाइलिस्ट नील डेभिड कटवाल चर्चित र लोकप्रिय हेयरस्टाइलिष्ट हुन् । काठमाडौंको काठमाडौं मलमा तीन सय स्क्वायर फिटबाट सलुनको सुरुवात गरेका नीलको यतिबेला हेयर एन्ड ब्युटी सलुन, ब्रान्च, फ्रेन्चाइजी, एकेडेमी र मेकअप स्टुडियोहरु नेपाल र भारतका धेरै सहरहरुमा रहेका छन् । झापाको लक्ष्मीपुरमा जन्मेका नील डेभिडले विभिन्न देशबाट हेयरस्टाइलको प्रशिक्षण लिएर सलुनको सुरुवात गरेका थिए । यो ब्राण्डलाई कसरी उचाईमा पुर्‍याउने भन्ने सोचमा रहेको बताउने नीलसँग मिलापका लागि गीता अधिकारीले गरेको कुराकानीको संक्षिप्त अंशः-

के-कसरी बितिरहेका छन् दिनहरु  ?
अहिले त तपाईंलाई थाहै छ विश्व नै कोरोना कहरमा छ । नेपालमा मात्र होइन पुरै विश्वलाई कोरोनाको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनले समस्यामा पारेको छ । यो समस्याबाट कसरी बाहिर निस्कने भन्ने कुरालाई सकारात्मक सोचाइ राख्दै अगाडि बढ्ने प्रयासमा छु ।

विगत तीन महिनादेखि लकडाउनमा छौं हामी सबै । यो समय कसरी व्यतित गर्नुभयो ?
म घरमै बसें । यो समयमा अनलाइनमार्फत् लकडाउनका कारण अप्ठ्यारोमा परेका धेरैलाई सहयोगको हात बढाएँ । भारतको पुनामा लगभग ७० जना जति अप्ठ्यारोमा परेकालाई मेरो त्यहाँको साथी प्रवीण पुरीमार्फत् २० दिनको खाना खुवाउने कार्य गर्नुभयो । यस्तै, सिलगुडीमा पनि हेटौंडाको सुरज भाइ हुनुहुँदो रहेछ, उहाँहरु भ्रमणमा जानुभएको रहेछ ५३ जनाको टोली रहेछ, मैले भनेर त्यहाँ भानुभक्त समिति भन्ने छ अनि मेरो साथी राजेश मण्डल, पदम थापा दाइ उहाँहरुले त्यो टोलीलाई खाने बस्ने व्यवस्था मिलाइदिनु भयो । त्यस्तै, झापामा रहेको भाडामा हामीले भाडा मिनाह गर्‍यौं । यसरी हेल्प गर्दै समय बित्यो ।

अप्ठ्यारो समयमा समस्यामा परेकालाई ठूलो मन राखेर सहयोग पुर्‍याउनुभयो ?
धेरै त गर्न सकिएन तर पनि आफूले जति जहाँ गर्न सकिन्छ त्यो प्रयास गरें मैले । सबैले आ–आफ्नो तरिकाबाट सानो-सानो प्रयास गरे पनि ठूलो राहत मिल्ने गर्छ ।

बिस्तारै आ-आफ्ना व्यवसाय सुरु हुँदै छन् । तपाईंले पनि सुरु गर्नुभएको छ, कस्तो छ ?
अहिले नै मेरो त्यस्तो सबैतिर सुरु भएको चाहिँ छैन । अहिले इण्डियामा चार-पाँचवटा खुलेको छ । नेपालमा पनि त्यस्तै तीन-चारवटा खुलेको छ । यसलाई विजनेस प्रपोजभन्दा पनि स्टाफहरुको मनोबल बढाउन सुरक्षित ढङ्गले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई फलो गर्दै सञ्चालनमा ल्याएका हौं । सरकारले केही राहत दिएको छैन व्यवसायीहरुलाई । त्यसैले भोकै मर्नुभन्दा बिस्तारै सुरु गरौं भनेर थालेका हौं ।

योे क्षेत्रमा कसरी लाग्नुभयो  ?
मेरो रुचि फेसन डिजाइनिङमा थियो । त्यसका लागि झापाबाट १२ क्लास पास गरेपछि काठमाडांै आएर आईएलटीएस पढ्न थालें । पास पनि भएँ । क्यानडा, यूके, जर्मनी, फ्रान्सलगातयका देशको लागि ट्राई गरें तर सात चोटी भिसा रिजेक्ट भएपछि फेसन पढ्न विदेश जान पाइनँ । त्यही क्रममा यूकेका नागरिक डेभिड भाइनालाई भेटें । उहाँको पासपोर्ट हराएको थियो र मैले खोज्न हेल्प गरेको थिएँ । सहयोग गरेको देखेर प्रभावित हुनुभएछ । फर्कने बेलामा मलाई पैसा पनि दिन खोज्नुभयो तर मैले लिइनँ । एक दिन उहाँले फोन सम्पर्कमा मेरो पनि कोही छैन, म तिमीलाई छोरा बनाउँछु, कुन देशमा पढ्न चाहन्छौ पढाउँछुु भन्नुभयो । उहाँकै सहयोगमा दिल्ली पुगेर १८ महिनासम्म फेसन डिजाइनिङबारे पढें ।

एकपटक सिङ्गापुर गएका बेला कपाल काट्न सैलुन छिर्दा त्यहाँ केटाले केटी र केटीले केटाको कपाल काटेको देखेर मलाई अचम्म लाग्यो । त्यसै बेला आफ्नो देशमा यही पेसा अपनाएर देशलाई चिनाउँछु भन्ने सोचें । भारतमा जावेद हविवको एकेडेमीमा ६ महिना ट्रेनिङ गरें । त्यसपछि थाइल्यान्ड, लन्डन आदि देशमा हेयरस्टाइल पढेर आई यो काम सुरू गरें ।

यो पेसा अपनाउँदा सुुरुमा कस्ता अप्ठ्यारा आए ? घर-परिवारबाट कस्तो प्रतिक्रिया आयो ?
बुबा प्रधानपञ्च हुनुहुन्थ्यो । त्यो बेला क्षेत्री–बाहुनलाई कपाल काट्ने काम गर्न अनुमित थिएन । बुबाले त्यो हजामले गर्ने कामका बारे किन पढ्नु, पर्दैैन भन्नुभयो । तर, मैले बुझाएपछि धेरै सपोर्ट गर्नुभयो ।

सुरुमा तपाईंले यस क्षेत्रमा आउँदै गर्दा अहिलेको ठाउँ चुम्ने सपना देख्नुभएको थियो  ?
सोचेको थिइनँ । सुरूमा एक/दुईवटा सैलुन खोल्छु र आठ–दसजनालाई रोजगारी दिन्छु भन्ने सोच थियो । तर, अहिले नेपालमा शाखा, फ्रेन्चाइज र एकेडेमी तथा भारतमा पनि यसको विस्तार साथै चीनमा पनि हामीले सुरु गर्न थालेका छौं । अष्ट्रेलियाको सिड्नी र दुबईमा पनि हाम्रो खोल्ने तयारी थियो तर पछिल्लो परिस्थितिले हामी रोकिएका छौं । पोष्टपोण्ड भएको छ । आशा छ, हामी त्यसमा पनि सफल हुनेछौंं । सकारात्मक सोचौं, हुन्छ होला । पहिला यस्तो ब्राण्ड नै बन्छ भन्ने सोचेको थिइन ।

झापादेखि अहिलेको ठाउँसम्म आइपुग्दा कसरी हेर्नुहुन्छ आफैँले आफैलाई  ?
झापादेखि अहिलेसम्मको यात्रा हेर्दा मैले ठूलै जम्प मारें जस्तो लाग्छ । त्यो समयमा फेसन भन्ने एकदमै टाढाको कुरा थियो । जिन्दगीमा उतार-चढाव नभई त कोही पनि सफल हुँदैन । दुई सय ५० स्क्वायर फिटमा खोलेको एउटा सैलुनबाट नेपाल र भारतमा पनि फ्रेन्चाइज खोल्दा बीचको अवधिमा मेरो करिअरमा धेरै उतार-चढाव आए । कति रात त म सुतेको पनि छैन । नेपालमा मात्र नभई नेपाली ब्रान्ड इन्डियामा र पछिल्लो समय अन्य देशमा पनि बेच्नु भनेको त्यति सजिलो काम होइन । त्यसका लागि धेरै समय र मिहिनेत लाग्यो । यसमा मैले धेरै सङ्घर्ष र स्याक्रिफाइस गरें । अझ पनि सङ्घर्ष जारी छ । म क्वालिटी बढाउनतर्फ पनि लागिरहेको छु । हाम्रो स्टाइल मन पराइदिएर विभिन्न ठाउँमा माग भएका कारण हाम्रो शाखा र फ्रेन्चाइज बढिरहेको हो ।

नेपालका सेलिब्रेटीहरु आफ्नो हेयरस्टाइलप्रति कत्तिको सजग रहेको पाउनुहुन्छ ?
नेपाली सेलिब्रेटीहरु पहिलेको तुलनामा अहिले धेरै सजग हुनुहुन्छ । अहिले नेपाली फिल्मको सङ्ख्या पनि बढी छ, नेपाली फिल्मको क्वालिटीमा पनि वृद्धि भएको छ । राम्रो–राम्रो मेकअप आर्टिस्ट र हेयरस्टाइलिस आइसक्नुभएको छ । सेलिब्रेटीमा हेयर कन्सेस पनि बढेको छ । समयसँगै धेरै परिवर्तन भएको पाएको छु ।

यो क्षेत्रमा कत्तिको कम्पिटिसन छ ?
मैले सुरूदेखि आजसम्म कसैलाई पनि कम्पिटिटरका रूपमा हेरिन । म अरूसँग कम्पिटिसन गर्नका लागि आएको पनि होइन । म आजको नील डेभिडभन्दा भोलिको नील डेभिडलाई बेटर बनाउँछु भनेर कम्पिटिसन गर्छु । सायद मेरो कम्पिटिटर म नै हो ।

समाजसेवमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ ?
आज यहाँबाट ५ हजारभन्दा बढी जनशक्ति उत्पादन भएका छन् भने धेरैले रोजगारी पाएका छन् । यही मार्फत् म सामाजिक सेवामा पनि सक्रिय छु । माइती नेपालका दिदीबहिनीहरूलाई ट्रेनिङ गराएर रोजगारी दिने र गरिब, अनाथ तथा श्रवणशक्ति नभएका बच्चाहरूको पढाइमा पनि सपोर्ट गरिरहेको छु । यस्तै, नील डेभिड फाउण्डेशन खोल्ने पनि कुरा भइरहेको छ । माई स्ट्रगल टकमा भाग लिइरहेको छु, जहाँ सङ्घर्ष गरेर उचाईमा पुग्ने युवायुवतीलाई आफ्नो स्टोरी शेयर गरेर मोटिभेसन दिनका लागि बोलाइन्छ ।

यो क्षेत्रमा लाग्न चाहनेलाई के भन्नुहुन्छ  ?
राम्रो छ तर हामी नेपाली अधैर्य भइसक्यौं । एकैछिनका लागि मात्र सोचेर जे पनि गरिदिन्छौं । आफूलाई ज्ञान नभएको क्षेत्रमा नजानी–नबुझी लागिदिने गर्छौं । मैले काठमाडौं मलमा पहिलो सैलुन खोल्दाखेरी एक वर्ष त आफ्नो गोजीबाटै पैसा तिरें । तर, धैर्यता राखें । धेरैले तिमीलाई एक दिन राम्रो हुन्छ भन्नुहुन्थ्यो, भयो पनि ।

अबको योजना  ?
नील डेभिडलाई हामीले डिजिटली बनाइसकेका छौं । हामी नयाँ कन्सेप्टमा आउँदै छौं । म अझै पनि नेपालकै लागि गर्न चाहन्छु । म नेपाली हेयरस्टाइलिस भएर चिनिन चाहन्छु । अझै मलाई पुगेको छैन । भर्खरै मेरो छोरा डेनियलले पनि यसैको विषयमा पढेर आएको छ । यो ब्राण्डलाई कसरी उचाईमा पुर्‍याउने भन्ने सोच छ । पहिला म एक्लो थिएँ, अब हामी बाबु-छोरा भएर यसलाई अझै उचाईमा लाने भन्ने छ । सबैको मायाको खाँचो छ । अहिले हामीले काठमाडौंको झम्सीखेलमा नील डेभिडको नयाँ मोडल सुरु गर्दै छौं । यो लकडाउनले केही ढिला भएको छ । म र मेरो छोराले एउटा टिम डेभलप गरेका छौं । यसलाई अझ उचाईमा लैजाने नै अबको योजना हो ।

(मिलापको असार अङ्कमा प्रकशित)

यसमा तपाइको मत

अन्य समाचार