आज बडादशैंको मुख्य दिन, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं,
कात्तिक ४ ।

आज बडादशैं अर्थात् विजयादशमी पर्व देशभर हर्षोल्लासका साथ मनाइँदैछ । यस अवसरमा मान्यजनको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ यद्यपि विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत कुर्नु नपर्ने समितिले जनाएको छ ।

घटस्थापनाका दिनदेखि नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरी आज देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा छ । टीका लगाउँदा मान्यजनबाट सुख, समृद्धि, दीर्घायु र सफलताको आशीर्वाद लिने गरिन्छ ।

समितिका अनुसार आज बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ । टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने धर्मशास्त्रीय मान्यता छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी नेपालीहरूको प्रमुख सांस्कृतिक पर्व हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ ।
विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ ।

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ। महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

अर्थात् जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नाम गरेका देवीलाई म नमस्कार गर्दछु ।

यसमा तपाइको मत

अन्य समाचार