भारतको मिचाहा प्रवृत्ति

  • डा. डीआर उपाध्याय

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जान सडकमार्ग खोलेको घटनाले मेरो मुटु चस्स घोचेको छ । मैले भन्छु, यो घटना भारतको मिचाहा प्रवृत्ति हो । नेपालको कूटनीतिक अक्षमताले गर्दा यो अवस्था बारम्वार दोहोरिरहेको छ । आफ्नो भूमि अतिक्रमणको विषयलाई नेपालले द्विपक्षीय कूटनीतिक ढङ्गले समाधान खोज्नु पर्छ । भारतले बिनासल्लाह एकतर्फी रूपमा अतिक्रमित क्षेत्रमा सडक बनाउने आँट गरेको छ । यो कुरा हामी देशभक्त नेपाली जनतालाई स्वीकार्य छैन ।

  • डा. डीआर उपाध्याय

पाँच वर्षअघि हामी विनाशकारी भूकम्पको चरम पीडामा थियौं, ठिक त्यही बेला भारत र चीनले नेपालसित परामर्श नगरी लिपुलेकलाई द्विदेशीय व्यापार नाकाका रूपमा विकास गर्ने सम्झौता गरेका थिए । आज हामी कोरोना भाइरस (कोभिड-१९) का कारण ‘लकडाउन’ वन्दावन्दी मा छौ । यही बेला नेपाली भूमिमा बनाइएको चीन जोड्ने सडक भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका छन् । जसले गर्दा नेपाली सार्वभौमिकतामा आँच आएको छ । भारतले छ महिनाअघि दार्चुलाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने उक्त भूभागलाई आफ्नोपट्टि पार्दै नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । त्यस बेला हामीले यो मुद्दालाई जोडतोडले उठाउन सकेको भए आज यो स्थिती भोग्नुपर्ने थिएन ।

सन् १८१६ को सुगौली सन्धिलगायत उपलब्ध अधिकांश ऐतिहासिक आधार, प्रमाण एवम् दस्ताबेजहरूका अनुसार महाकाली नदीवारिको कालापानी क्षेत्र नेपाली भू–भाग हो । यसमा कुनै द्विविधा छैन । नेपाल र भारतबीचको पश्चिमी सीमा महाकालीले छुट्याउँछ, जुन नदीको उद्गमविन्दु लिम्पियाधुरा हो । त्यसभन्दा पूर्वतर्फ पर्ने लिपुलेक नाका र त्यसमुन्तिर कालापानीसम्मको ठूलो भू-खण्ड कम्तीमा सात दशकदेखि भारतीय अतिक्रमणमा परेको छ । त्यही क्षेत्र भएर भारतले अहिले चीनतर्फ प्रवेश गर्ने सीमा सडक निर्माण गरेको हो । नेपाल सरकारले यस बारेमा निरन्तर पहल नगर्ने हो भने कालापानी मामिला कहिल्यै नसुल्झिने घाउका रूपमा रहिरहने निश्चित छ । नेपाली भूभागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई यसअघि आफ्नो दाबी गर्दै भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि उत्पन्न विवाद हालसम्म सुल्झन सकेको छैन ।

अव नेपाल सरकारले भारतसँग कूटनीतिक पहलकदमी अगाडि बढाउनुपर्छ । दह्रो ढङ्गले आफ्ना आधार–प्रमाणहरू राख्दै वार्ताको टेबलमा बस्नुपर्छ । र, समस्या समाधान नहुँदासम्म यसलाई निरन्तरता दिइरहनु पर्छ । अनि मात्र समस्या समाधान हुन सक्छ ।

यसमा तपाइको मत

अन्य समाचार