काठमाडौं,
चैत २ ।
गायिका रानी शाक्यको नयाँ गीत ‘को हो त्यो…’ सार्वजनिक भएको छ । गोविन्दप्रसाद उपाध्यायको शब्द, विक्रम थापाको सङ्गीत र विशन मानन्धरको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रोमान्टिक फ्लेवरको यस गीतको भिडियोमा एक युवतीले आफुलाई मनपर्ने मान्छेले सपनामा आएर आफुलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन गरिएको छ । जीवन शाहीको निर्देशन र सुबल थापाले कोरियोग्राफी गरेको भिडियोमा एलिशा शर्मा र कमल सिंहको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।
हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन् । उनका ‘मेरो प्रियतम’, ‘हरपल तिम्रो’, ‘यो वैँशको मात’, ‘सुरुवात’, ‘पहिलो माया’, ‘कथा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन् । हालसम्म गायिका शाक्यले १७ बढी गीत सार्वजनिक गरिसकेकी छिन ।






