काठमाडौं,
माघ १५ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको छ । पार्टी एकता भएको डेढ वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरिरहेका छन् ।
बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले उद्घाटन सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारका यसबीचका काम र उपलब्धिबारे पनि प्रस्तुत गरेका छन् ।
नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक केन्द्रीय समितिको बैठक बसेको हो ।
बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । यसअघि स्थायी कमिटीमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो । प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने हुने जनाइएको छ ।
बैठक बुधबारदेखि माघ २० गतेसम्म चल्ने छ । यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो ।






