…तर सङ्गीत क्षेत्रकै कलाकारहरूले तपाईंलाई कसरी चिन्छन् भावुकजी  ?

नेपाली रङ्गपत्रकारितालाई कलापत्रकारिता भनेर बीबीसी नेपाली सेवाले छुट्टै बिट सुरु गर्दा म पहिलोपटक बीबीसीको कलासम्वाददाता थिएँ । बीबीसी नेपाली सेवाका तात्कालीन सम्पादक रवीन्द्र मिश्र, जीतेन्द्र राउत र म बसेर सम्वाद गर्दा नामका विषयमा निकै छलफल भएको थियो । बीबीसीले पहिलोपटक नेपाली सेवाका लागि कला बिट सुरु गर्दै थियो र त्यस प्रयोजनका लागि मलाई उनीहरूकै तर्फबाट छनोट गरी आमन्त्रण गरिएको थियो । यो अभ्यासको झण्डै दशकपछि मैले बीबीसी छोडेँ र आज बीबीसीले त्यो बिट बन्द गरेको छ । त्यहाँबाट साप्ताहिकरूपमा नियमित रिपोर्टिङ नभए पनि आवश्यकताअनुरूप कहिलेकाहीँ कलालाई पनि समेट्छ होला सायद । तर, कला यो शब्द स्थापित भयो र पत्रकारिताको यो क्षेत्रको नाम कलापत्रकारिताको नामले आज झन् बढी प्रचलित भएको पाउँछु । यो सुखद् प्रसङ्ग हो तर नेपालमा कलाक्षेत्रलाई सम्बोधन गरेर कलापत्रकारिता गर्दै आए/आइएको भने लामो समय भयो । कतै चलचित्रपत्रकारिता भनियो होला र कतै रङ्गपत्रकारिता तर यसको निकै लामो इतिहास छ । यस आलेखमा भने त्यो इतिहासको प्रसङ्ग नभएर इतिहासको यही कालखण्डमा एकलव्य शैलीमा निरन्तर सक्रिय कला पत्रकार तुलसी गिरी ‘भावुक’सँग जोडिएर केही सन्दर्भ लेख्न खोजिरहेछु ।
‘भावुक’ २०२४ साल फागुनमा मेचीनगर नगरपालिका–८, झापामा जन्मिएका हुन् । नेपालभूमि साप्ताहिकको ’कला जगत्’ नामक कला स्तम्भमार्फत् उनी २०४५ सालदेखि यस क्षेत्रमा छन् । गीताञ्जली सिने मासिक, प्रिया सिने मासिक, ढुकढुकी सिने मासिक हुँदै विगत डेढ दशकदेखि उनी प्रधान सम्पादक र प्रकाशकका रूपमा ‘म्युजिक डायरी’ मासिकलाई गोडमेल गर्दै आएका छन् । कान्तिपुर पब्लिकेशनमा सम्वाददाताको रुपमा काम गरेका भावुक कान्तिपुर साप्ताहिकको संस्थापक सदस्यहरूमध्येका एक हुन् । उनले कला क्षेत्रलाई नै पत्रकारिताको मूलबाटो बनाए र आजसम्म त्यही बाटोमा यात्रारत छन् । एक दिन, दुई दिन वा दुई–चार अङ्क निकालेर होइन, निरन्तर यही बाटोमा डेढ दशकभन्दा बढी रहेर कलाकै बिटमा पत्रकारिता गर्न सकिन्छ भन्ने दृष्टान्त पेश गरेर उनी कर्मशील छन् । यो एउटा मीठो यात्रा हो ।

– डा. नवराज लम्साल

कम बोल्ने, खिसिक्क हाँसोमै बोलीको अन्तर्य लुकाउने र सहजरूपमा प्रस्तुत हुने उनको स्वभाव आमपत्रकारभन्दा फरक छ । उनको सम्पादन तथा प्रकाशनमा रहेको म्युजिक डायरीमा निकै धेरै पटक लेखेको छु । ती लेखहरूमा न त उनले यो लेख भने न त यस्तो लेख भने । उनलाई विषयभन्दा विषयसँग खेल्ने कला र भाषा मन पर्छ । उनको कला र भाषाप्रेमले म हुरुक्क हुन्छु । हाम्रो पत्रकारितामा आज शिल्प र विश्लेषणको जरुरी छ । लेखनको मिठास र लेखकीय सारसन्तुलनको जरुरत छ । तँतँ र मम वा प्रशस्ति र गालीको डिल भत्काएर समालोचना जरुरी छ । कला क्षेत्रका व्यक्ति/पाठकहरूमा पनि आफ्नो पक्षमा राम्रोमात्रै आओस्, आलोचना नआओस् भन्ने तृष्णा छ । आलोचना सहने क्षमता कम छ । लेखाइको कुरा परै आओस् कसैको पुस्तक वा एल्बम विमोचनका बेलामा समेत आफ्नो नाम लिइदिए हुन्थ्यो, आफ्नो चर्चा गरिदिए हुन्थ्यो भनेर दर्शकदीर्घामा आँखा नझिम्काइकन कुरिरहने कलाकारहरूसमेत भेटिन्छन् । सन्दर्भवश अरूको नाम आयो र आफ्नो आएन भने जीवनभरलाई दुश्मनी साँधेर बस्ने पूज्य कलाकारहरू पनि छन् । यो चेतना र भीडमा आफ्नै लगानीमा पत्रकारिता गर्नु र कलाकारलाई उठाइरहनुको काँध कस्तो हुनुपर्ला ? आफ्नै बारेमा लेखिएको पत्रिकासमेत किन्न नपरे हुन्थ्यो र सम्पादकले सकेसम्म घरैसम्म ल्याइदिए हुन्थ्यो भन्ने सोच हावी छ धेरै जनामा । यही पृष्ठभूमिमा भावुक शैलीमा कलापत्रकारिता गर्ने भावुकताचाहिँ भावुकलाई कहाँ र कसरी आयो होला ? उनीसँग मेरो सङ्गत छ तर नजिक सङ्गत छैन । हार्दिक सङ्गत छ तर सँगै बसेर कफी खाएर दुःख साट्ने सङ्गत छैन । उनीसँग गफिएरै उनका कुरा लेख्न सक्तथेँ तर आज टाढैबाट केही लेख्न खोजेको छु । यो मेलोमा उनी र उनीजस्ताहरूको लामो शृङ्खला तयार भइसकेको छ । त्यहाँ पुस्तान्तरण पनि छ । पुस्ता–पुस्ताबीचको अन्तर के ? प्रविधि, विषय, शिल्प र चेतनाको तहबाट विश्लेषण जरुरी छ । सन्दर्भ आज केवल उनको मात्र उठाएको हुँ ।

आज एउटा मोबाइल भए सबै खाले पत्रकारिताका आधार हुन सक्छ । तत्काल प्रसारण, प्रकाशन हुन सक्छ तर लेटरप्रेसमा अक्षर गनेर पत्रकारिता गर्दाको दुःख र ती अग्रज पुस्ताले सुरुवात गर्दाका सुरुवाती दिनको महत्वलाई आजको सहजताले छोपिनुहुन्न । अरूको कथामा सफलताको रङ देख्ने र त्यही रङमा पाइन चढाएर धारिलो पार्ने पुस्ताको कथा पनि त्यसैगरी लेखिनु जरुरी छ । ती दिनमा पनि र आज पनि उही र उस्तै रूपमा सक्रिय रहन सक्नुको एउटा सुन्दर नाम तुलसी गिरी ‘भावुक’ हो । यही कोणबाट नहेरी तुलसीजीमाथि न्याय हुन्न सायद ।

फाइभ डब्ल्यू र वान एचको फर्मुलामा पत्रकारिता गर्नु एउटा कुरा होला तर पत्रकारिता आफ्नै हृदयसँगको सम्वाद पनि हो । समय र मान्छे पढ्नु पनि हो । समाज, संस्कृति, जीवनशैली र प्रविधिको ज्ञान नभई कोरा पत्रकारितामात्रै भन्नु र दाइदिदीले भन्नु भयो, यसो भयो र यो यस्तो हो भन्दा आजको पत्रकारिता माथि आउनु जरुरी छ । प्राज्ञिक अभ्यास, शोध, साधना र विश्लेषण क्षमताको पनि जरुरत छ । यूट्युब वा सामाजिक सञ्जालको भाइरल कथा एउटा कुरा हो र स्वयम् विषय र त्यसको कलापूर्ण सम्पादन अर्को कुरा हो । मूल कुरा निरन्तरता हो । तुलसी गिरीलाई म अध्ययनका निम्ति निकै सक्रिय र सामाजिक खोजहरूमा पनि क्रियाशील व्यक्तित्वका रूपमा देखेको छु ।

उनले एक नम्बर प्रदेशमा बसोबास गर्ने मेचे, धिमाल, सतार र लेप्चा समुदायमा प्रचलित लोकवार्ताको पहिचान र अध्ययन गरेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा बसोबास गर्ने गुरुङ समुदायमा प्रचलित लोकवार्ताको अध्ययन गर्ने तथा काठमाडौँ उपत्यकाभित्र साङ्गीतिक उत्पादनयुक्त वस्तुको अनधिकृत प्रयोगको अवस्थाको बारेमा अध्ययन प्रतिवेदन तयार गर्ने काममा पनि उनको संलग्नता सक्रिय र सार्थक देखिन्छ ।

दुरा समुदायमा प्रचलित लोकवार्तादेखि इलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित प्रतिलिपि अधिकारसँग सम्बन्धित सङ्घ–संस्था र निकायहरुको अध्ययन, नेपालमा चलचित्र क्षेत्रको आर्थिक प्रभाव विषयक अध्ययनजस्ता विषयको खोज, अनुसन्धान र विश्लेषणले उनलाई सम्बन्धित विषयको गहिराइसम्म पुग्न सहयोग पु¥याएको छ । यी देश बुझ्ने माध्यय हुन् । देश नबुझी, जनता नचिनी र हृदय नभत्की न त कवि भइन्छ न त पत्रकार । भावुकले मूलतः गण्डकी प्रदेश र अन्यत्रका समेत कतिपय साहित्यकारहरू, तिनका कृतिहरू र तिनै कृतिहरूको प्रभावमाथि पनि अध्ययन गरेका छन् । यो उनको रुचिको तर आफ्नो कर्मसँग सम्बन्धित विषयका लागि जरुरी मेलो हो । यसले उनलाई खँदिलो र भरिलो पारेको छ । उनको अध्ययनकै सीमा कति हो र त्यसमाथि थप अध्ययन कति जरुरी छ ? त्यो त शोधको निरन्तरता कुरो हो ।

भावुकजीसँग जोडिएको अर्को महत्वपूर्ण कुरा प्रतिलिपि अधिकार र रोयल्टीको कुरा पनि हो । नेपालमा विगतदेखि हालसम्म निर्मित सम्पूर्ण कथानक चलचित्रहरुको विवरणात्मक सूचीसहितको अध्ययन गर्न भ्याएका भावुकले सङ्गीतको प्रकाशन र बिक्री वितरणको अवस्थासम्बन्धी अध्ययनसमेत गरेका छन् । अध्ययन भएकै कारण यस विषयमा निरन्तर लेखिरेका पनि छन् । उनी पत्रकार हुन् तर पत्रकारमात्र होइनन् । अन्य विधा, विषय, व्यक्ति र घटनाक्रमको अध्ययनले दिएको पुष्टिमा उनले तुष्टि भेटेका छन् र त्यही तुष्टि सन्तुष्टिका रूपमा पत्रकारिता भएर बाहिर आएको छ । यही हो उनको खास परिचय । कलमको टुप्पोमा ज्यादा मोह र ज्यादा प्राप्तिको अभिलाषा राखेर गरिने पत्रकारिताले व्यक्तिलाई लामो समयसम्म टिकाइराख्न मुस्किल पर्छ । आवश्यकता पूर्ति हुन सक्छ तर तृष्णा पूर्ति हुँदैन । तृष्णाले थिचेपछि न व्यक्ति उठ्छ न त संस्था । आज समाजले पनि र व्यक्तिले पनि सोच्नुपर्ने कुरा यही हो । कम्तीमा तुलसीजीमा तृष्णा छैन कि जस्तो देखिन्छ । यहीँ उनको सफलता भेटिन्छ ।

पौरस्त्य शास्त्रमा कला र विद्या अलग कुरा हुन् । कला ६४ हुन्छन् भने विद्या ३२ हुन्छन् भनिन्छ । ६४ कलामा गीत, नृत्य, वाद्यवादनदेखि शयन रचना, नेपथ्यकला, पुष्प सजावट, बालविनोद आदिआदि पनि पर्छन् । वास्तुकला, चित्रकला, हस्तकला, यन्त्र, वस्त्र, छन्द, गहना सजावट आदि विषय सन्दर्भहरू देखा पर्छन् । कलाको लामो कुरा गर्दा प्रसङ्ग अन्यत्र मोडिन्छ भने विद्याको महिमा र गहिराइ खोज्ने अध्ययन अर्कै हो तर के आज हामी हिजोको कलारूप र आजको कलारूपको समतामा छौँ त ? यो दार्शनिक र समयको रूप सापेक्षतामा गरिने अर्को बहस हो । बीबीसीमा काम गर्दा चलचित्रका मेकअप म्यानहरूका बारेमा रिपोर्टिङ गरेको थिएँ । चिटिक्क देखिने नायक–नायिकाको रूप सिँगार्ने कलाकारको चाहिँ चर्चा किन नगर्ने ? तिनको सीप, शिल्प, तिनको योगदान र आवश्यकतासँगै तिनको जीवन निर्वाह र आर्थिक स्थिति ! यी पनि हाम्रा सरोकार हुन् । कलाले केवल गायक, गायिक, गीतकार र सङ्गीतकारहरूमात्र भन्दैन । गीतको एरेन्जर र तिनको कला, रेकर्डिष्ट र तिनको रेकर्डिङ कला, कभर डिजाइनर र तिनको कला, प्रेसमा छपाइ कला र त्यही कभर पनि पट्याउने कला ! कहाँ छैन कला ? नायक–नायिकको मुहारमा मात्र पत्रकारिता देख्ने आँखा साँघुरिँदै जानु जरुरी छ । म्युजिक डायरीमा आएका कथा र समाचार शृङ्खलाहरूका बीचमा तुलसीजीलाई खोज्ने र शोध गर्ने परम्परा सुरु होला कुनै दिन ।

तुलसीजीलाई सोध्न बाँकी एउटा प्रश्न अझै छ– डेढ दशकदेखि म्युजिक डायरीमै टिकिरहने राज के हो ? ठूलो सञ्चार गृहको सानो पत्रकार हुनुभन्दा आफैँले केही गरूँ भन्ने आग्रहभन्दा बढी सङ्गीतमै टेकेर सङ्गीतकै सेरोफेरोमा पत्रकारिताको धुरी उठाउन दृढ रहेको तपाईंको इच्छाले तपाईंलाई सन्तुष्टि दियो र सङ्गीतलाई फराक बनायो तर एउटा प्रश्न– तपाईंलाई के दियो  ?

प्रायः थोरै बोल्ने र खिसिक्क हाँस्ने तपाईंकै शैलीमा जवाफ पनि आउला सायद्- तपाईंहरूले बुझ्नु भएको छ नि !
तर, मैले उत्तर मागेको प्रश्न हो– डेढ दशक सङ्गीतकै पत्रकारिता गरेर सङ्गीतलाई उठाउँदै आउनु भयो तर सङ्गीत क्षेत्रकै कलाकारहरूले तपाईंलाई कसरी चिन्छन् ? के भन्छन्  ?

(मिलापको कात्तिक अङ्कबाट)

यसमा तपाइको मत

अन्य समाचार