काठमाडौं,
भदौ २४ ।
असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले मंगलबार ट्रेलर सार्वजनिक गरेको हो । मुभिज डिजिटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्यपात्र कार्की साइँला (जितु नेपाल)को जीवनकथा प्रस्तुत गरिएको छ । भारी बोक्ने भरियाका रूपमा जीवन बिताइरहेका कार्की साइँलाको विवाह, सन्तान र पारिवारिक खुशीसँगै गाउँले समाजले गर्ने हेपाइ र विभेदलाई ट्रेलरमा देखाइएको छ ।
ट्रेलरमा कार्की साइँला आफूमात्रै नभई अरूका लागि समेत लमीको भूमिका निर्वाह गरिरहेको देखिन्छ । गाउँमा आएकी एक युवती (प्रियाना आचार्य)को भारी बोकिदिएबापत पैसा लिनसमेत अस्वीकार गर्ने उनको स्वभावलाई प्रस्तुत गरिएको छ । पछि तिनै युवतीसँग उनको प्रेम र विवाह हुँदै सन्तान प्राप्तिसम्मको कथालाई ट्रेलरले समेटेको छ ।
चलचित्रले पुरुषको भावनात्मक पक्षलाई समेत कथाको महत्त्वपूर्ण विषय बनाएको देखिन्छ । ‘महिला जहाँ रोए पनि हुन्छ, तर पुरुषले रुनका लागि एकान्त खोज्नुपर्छ’ भन्ने सामाजिक मान्यतालाई ट्रेलरमार्फत उठाइएको छ । पुरुषले आफ्ना भावना व्यक्त गर्न खोज्दा समाजले निर्माण गर्ने दबाब र त्यसको वास्तविकतालाई चलचित्रमा कसरी प्रस्तुत गरिएको छ भन्ने विषय दर्शकका लागि चासोको विषय बनेको छ ।
चलचित्रमा जितु नेपाल र प्रियाना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मालगायतका कलाकारको अभिनय छ । डम्बर राईको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पार्नुभएको हो । चलचित्रको निर्देशन राजेन्द्र बस्नेतले गर्नुभएको छ । बालकुमार राई र निर्भिक बञ्जारा निर्माता तथा अनन्त राई कार्यकारी निर्माता रहेको चलचित्रमा दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत छ । यसअघि सार्वजनिक चलचित्रको गीत ‘लग्यौ परान’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा सिबी भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रवि केसीको शृंगार रहेको छ । चलचित्रको पोस्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ भने मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनरका रूपमा छ । चलचित्रको वितरणको जिम्मेवारी कुबेर फिल्मस्ले लिएको छ ।







