बिर्तामोड,
भदौ २४ ।
विद्यालय तहदेखि नै सक्षम रङ्गकर्मी उत्पादन गर्ने लक्ष्यसहित बिर्तामोडमा प्रथम जिल्ला स्तरीय ‘युवा कलाकार अभिनय प्रशिक्षण शिविर-२०२६’ आयोजना हुनेभएको छ । छुनुमुनु थिएटर काठमाडौंको सहकार्य तथा बाल वातावरण विद्यालय (सीईएस) नाट्य क्लबको आयोजनामा बिर्तामोडस्थित बाल वातावरण विद्यालयको ग्रेस सभागृहमा भाद्र २७ देखि २९ गतेसम्म तीनदिने प्रशिक्षण शिविर सञ्चालन हुने भएको हो । कार्यक्रममा झापाका विभिन्न विद्यालयमा नाट्यकला अध्ययनरत विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ ।
शिविरमा विद्यार्थीलाई आवाज, शरीर, भाव, अभिव्यक्ति, हाउभाउ तथा मञ्चीय प्रस्तुतिसम्बन्धी व्यावहारिक र सिर्जनात्मक प्रशिक्षण दिइने जनाइएको छ । सहभागीको सिर्जनशीलता, कल्पनाशक्ति र आत्मविश्वास विकास गर्दै उत्कृष्ट प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रंगमञ्चका लागि तयार गर्ने लक्ष्य रहेको आयोजकको भनाइ छ ।
प्रशिक्षण छुनुमुनु थिएटरका निर्देशक तथा प्रशिक्षक राजन भुजेलले दिनुहुनेछ । शिविरको पहिलो दिन ‘विद्यालयमा अभिनय शिक्षा’ विषयमा विशेष अन्तरक्रिया कार्यक्रमसमेत आयोजना हुनेछ । अन्तरक्रियामा राजन भुजेल, वरिष्ठ नाट्य कलाकार टंक विकल्प, परिवर्तन थिएटर मेचीनगरकी प्रशिक्षक तथा निर्देशक कविता नेपाल र कदम थिएटर दमकका वरिष्ठ कलाकार सुभाषचन्द्र खरेल सहभागी हुनुहुने छ । अन्तरक्रियाको सहजीकरण कवि, सञ्चारकर्मी तथा व्यक्तित्व विकास प्रशिक्षक लिला अनमोलले गर्नुहुनेछ ।
तीनदिने प्रशिक्षण शिविरको संयोजन थिएटर प्रशिक्षक तथा लेखक–निर्देशक दिनेशराज शर्माले गर्नुहुनेछ । आयोजकले शिविरलाई अभिनय सिकाउने कार्यक्रम मात्र नभई जिल्लाका युवा रङ्गप्रतिभाको पहिचान, प्रोत्साहन र विकास गर्ने अभियानका रूपमा अघि बढाइएको जनाएको छ ।







