काठमाडौं,
कार्तिक १९ ।
मङ्सिर १३ गतेदेखि सिनेमाघरमा आउने चलचित्र ‘सरौतो’को प्रमोशनल गीतमा र्यापर भिटेन (समिर घिसिङ)ले आवाज भरेका छन् । शिर्ष गीतमा भिटेनकै शब्द तथा सङ्गीत पनि छ । चलचित्र सार्वजनिक टिजर मनपरेपछि भिटेनले गीत तयार गरेका हुन् ।
यो गीतको भिडियोमा भिटेन आफैँ पनि देखिनेछन् । गीतमा भिटेनको साथमा मुख्य कलाकारहरु सुमी मोक्तान र विजय लामा पनि देखिदैछन् ।
गीतलाई तिहारको छेकोमा छायाँकन गरिएको हो । गीतमा भिटेन केहि फरक अन्दाजमा प्रस्तुत हुने चलचित्रका निर्देशक हरि हुमागाईंले बताए । चलचित्रकै थिम अनुसार गीतलाई तयार गरिएको छ ।
गीतको छायाँकन सकिएसँगै निर्माण पक्षले केहि तस्वीर सार्वजानिक गरेको छ । सार्वजनिक तस्वीरमा भिटेन अर्थात समीर र सुमीलाई आफ्नै अन्दाजमा देख्न सकिन्छ । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरिले यसै चलचित्र मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । यसमा सुमीसँगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको अभिनय रहेको छ ।
चलचित्रमा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रलाई रिभेन्ज स्टोरी भनिएको छ ।
चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहेको छ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, भिटेनको सङ्गीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् ।
चलचित्रलाई काठमाडौं, सिम्रौनगठलगायतका तराइको स्थानमा मुख्य रुपमा छायाँकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको चलचित्रलाई उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।






