ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्कोमा हुँदै

काठमाडौं,
कार्तिक ३ ।

‘आफ्नै नाम, शान र पहिचान’को मूला नारा सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ हुने भएको छ । चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको हो । यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र Golden State Movie Maker LLC, USA रहेका छन् त्यस्तै सहआयोजकहरुमा भने 8848 Media House LLC र Himalayan Foundation Corp रहेका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, गोल्डेन स्टेट मुभी मेकरका अध्यक्ष यज्ञलाल श्रेष्ठ, बरिष्ट अभिनेता निर शाह, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ट अभिनेत्री शर्मिला मल्ल, ग्लोबल फिल्म अवार्डका नेपाल संयोजक मदुकुमार श्रेष्ठ, सास्कृतिक संघका सभापति तिर्थ थापा, अभिनेता शिब श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, बिशाल बिष्ट, कलाकार संयोजक श्याम भट्टराई, निर्देशक नारायण पुरी, पत्रकार बिजय रत्न, नेपाल फिल्म सोसाइटीका नारायण प्रधान, सुनिल कटुवाल, राजेश बिसुराल, सानु ताम्राकार, सुभाष थापा, शंकरलाल श्रेष्ठ, राजु शाही तथा राजेश महर्जनलगायत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बिगत तीन संस्करण सम्म Global Nepali film Award LLC , USA र Nepal Film Society, Nepal मात्र आयोजक भई यो अवार्ड गरिदै आएको थियो भने यस बर्षदेखि Golden State Movie Maker LLC, USA ले पनि आयोजक बन्दै सहकार्य अगाडी बढाएको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । विगत तिन वर्षमा तेस्रो संस्करण संयुक्त राज्य अमेरिकामा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्रियाउने अवार्डका उद्देश्य रहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष मल्लले अबगत गराएका छन् ।

अवार्डको तयारी तिब्र रुपमा भईरहेको नेपालका कार्यक्रम संयोजक मदुकुमार श्रेष्ठले जानकारी गराएका छन् भने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र कलाकार संयोजकमा श्याम भट्टराई रहेका छन् ।

नेपाली फिल्म ईण्डस्ट्रिजलाइ विश्व बजार सम्म फैलाउने मुख्य उद्देश्यको साथ आयोजना गर्दै आएको यस कार्यक्रमको यो संस्करण झन् व्यापक र बृहत हुने आयोजकको दाबि रहेको छ । अवार्ड सम्बधि अन्तिम निर्णयको अधिकार नेपाल फिल्म सोसाइटी अन्तर्गतको जुरी टिमलाइ रहने छ भने अमेरिकामा रहने कलाकारहरु संगको समन्वयको जिम्मेवारी Global Nepali film Award LLC , USA र 8848 Media House LLC कम्पनीलाइ रहने जनाइएको छ ।

कार्यक्रम स्थानिय व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी भने Golden State Movie Maker LLC, USA लाई दिइएको छ । कार्यक्रम निर्माणको सम्पूर्ण जिम्मेवारी नारायण पुरी, राजु बजाज र एस बाबु सन्दिपलाइ आयोजक तिनै वटा संस्थाको तर्फबाट प्रदान गरिएको छ । कार्यक्रमको मुख्य सो यानिकी ‘अवार्ड सो’ नोबेम्बेर ३० को दिन साँझ ६ बजे देखि बर्कलि को यु सी थिएटरमा हुनेछ ।

यसरी यु सी थिएटरमा कुनै नेपाली कार्यक्रम हुन लागेको यो पहिलो पटक हो जहाँ अमेरिकाका ख्याती प्राप्त कलाकारहरु आएर प्रस्तुति दिने गर्दछन । त्यस्तै कार्यक्रमको भोलि पल्ट बिहानै भिजिट नेपाल २०२० लाई प्रमोसन गर्ने उद्देश्यले कलाकार सहितको सहभागितामा बर्कलि सिटिको मुख्य सडकनै बन्द गरि नेपाल डे परेड मनाइने र उक्त कार्यक्रमको आयोजक यस कार्यक्रमको सहआयोजक मध्यको एक हिमालयन फाउन्डेसन भएको हुनाले उक्त नेपाल डे परेड कार्यक्रमसंग पनि सहकार्य गरिने छ । साथै सोहि दिन साँझ सान फ्रान्सिस्को बे मा कलाकारहरु सहितको भब्य क्रुज पाटि समेत गरिने, जसमा सहभागी हुने हरुले प्रत्यक्ष्य कलाकारहरुलाई भेट्न समेत पाउने जनाइएको छ ।

कार्यक्रममा नेपाली फिल्म छेत्रका स्थापित, नबोदितलगायत अति लोकप्रिय कलाकारहरुको समेत उपस्थिति रहने, त्यसका साथै अवार्ड शोको बीचमा नेपाली स्थापित कलाकारहरुको समेत प्रस्तुति रहने जानकारी गोल्डेन स्टेट मुभी मेकर एल एल सीका अध्यक्ष यज्ञ लाल श्रेष्ठले जानकारी गराए । आजको कार्यक्रमको सञ्चालन एस बाबु सन्दिपले गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार