चालकलाई अनिवार्य सुन्तला र सहचालकलाई हरियो रङ्को ज्याकेट

काठमाडौं,
मङ्सिर १ ।

काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र माइक्रोबस व्यवसायी सङ्घका प्रतिनिधिहरुको संयुक्त बैठकले शनिबारदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको जानकारी दिए । माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुट, प्लेट राख्नेसमेत बैठकले निर्णय गरेको उनले बताए ।

महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि माइक्रोबसका चालक तथा सहचालकले नलगाई अटेर गर्दै आएका थिए ।

महासङ्घका महासचिव सरोज सिटौलाले ज्याकेटले चालकको पहिचान, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताए । ‘ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्नेछौँ,’ उनले भने ।

अहिले काठमाडौँ उपत्यकाभित्र मात्र यो व्यवस्था गरेपछि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गरिने उनको भनाइ छ । महाशाखाले यसअघि उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार