काठमाडौं,
मंसिर ९ ।
महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने उद्देश्यसहित आज नोभेम्बर २५ मा विश्वभर महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघका अनुसार महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लंघनको गम्भीर स्वरूप हो । राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय र यूएन वुमनको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । अर्थात् दैनिक औसत १३७ जनाले ज्यान गुमाएका थिए ।
महिला अधिकारकर्मीले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् । सन् १९६० मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा हत्या गरिएका मिराबल दिदीबहिनीको स्मृतिमा यो दिन छनोट गरिएको हो । संयुक्त राष्ट्रसंघले सन् १९९९ मा यस दिनलाई औपचारिक मान्यता दिएको थियो ।
यस दिवससँगै आजदेखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत सञ्चालन हुँदैछ ।







