आजदेखि दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा सुरु

काठमाडौं,
मंसिर ८ ।

लामो प्रतीक्षापछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार आजदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन हुन लागेका हुन् ।

आजदेखि पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेल सुरु हुनेछन् । प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुँदैछन् । बाँकी खेल कर्णालीका अन्य जिल्ला तथा नेपालगञ्जमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताअन्तर्गत टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा हुने तय गरिएको छ ।

प्रतियोगिताका लागि वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । विभिन्न प्रदेशका खेलाडी तथा टोलीहरू वीरेन्द्रनगर पुगिसकेका छन् । नवनिर्मित रंगशाला हस्तान्तरण तथा उद्घाटन भइसकेको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते र समापन मङ्सिर २७ गते सुर्खेत रंगशालामा हुनेछ । लामो समयको प्रतीक्षापछि कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदले प्रदेशको खेलकुद विकास र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार