एनपीएल : इलिमिनेटरमा आज चितवन र काठमाण्डु खेल्दै

काठमाडौं,
मंसिर २ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज इलिमिनेटरको खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् ।

आजको खेल जित्ने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा क्वालिफायर–वानमा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले दुवै टोलीका लागि आजको खेल गर या मरको अवस्थामा हुनेछ ।

काठमाडौं गोर्खाज लगातार दोस्रोपटक प्लेअफमा पुगेको हो । पहिलो संस्करणमा आठ अंक जोड्दा पनि प्लेअफमा स्थान बनाउन नसकेको काठमाडौंले दोस्रो संस्करणमा भने तेस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो । तर, अघिल्लो संस्करणको इलिमिनेटरमा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित हुँदै उसको यात्रा टुंगिएको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको काठमाडौं १११ रनमै समेटिएको थियो ।

यसपटक काठमाडौं प्लेअफमा आफ्नो पहिलो जितको खोजीमा छ । लिग चरणमा सुरुआती खेल गुमाएको काठमाडौंले त्यसपछि लगातार जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गरेको थियो । यद्यपि, लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएपछि टोली क्वालिफायर–वानमा पुग्न असफल रह्यो ।

यता चितवन राइनोज सात अंकसहित प्लेअफमा प्रवेश गरेको टोली हो । लिग चरणमा तीन जित र एक खेलमा नतिजाविहीन बनेको चितवनले सात अंक जोडेको थियो । आफ्नो अन्तिम खेलमा कर्णाली याक्ससँग पराजित भए पनि त्यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेकाले उक्त हारले उसको यात्रामा ठूलो असर पारेन ।

अन्तिम खेलको हारसँगै चितवनको कम्तीमा तेस्रो स्थान हासिल गर्ने सम्भावना भने समाप्त भएको थियो । त्यसैले टोलीले इलिमिनेटर खेल्नुपरेको हो ।

लिग चरणको भेटमा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको थियो । त्यही नतिजालाई दोहोर्‍याउने लक्ष्यमा काठमाडौं रहँदा चितवन भने अघिल्लो हारको बदला लिँदै प्रतियोगितामा आफ्नो चुनौती कायम राख्न चाहन्छ ।

प्लेअफमा अहिलेसम्म जित निकाल्न नसकेको काठमाडौंका लागि आज इतिहास बदल्ने अवसर छ । चितवनका लागि पनि दोस्रो क्वालिफायरसम्म पुग्ने यो निर्णायक मौका हुनेछ । दुवै टोलीबीचको प्रतिस्पर्धाले आजको इलिमिनेटरलाई रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार