यस्तो छ ‘सिन्दुरे जात्रा’को टिजर

काठमाडौं,
मंसिर २ ।

चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले यसअघि ‘बाँसैको सुप्लाखे’ गीत सार्वजनिक गरेपछि बुधबार चलचित्रको टिजर सार्वजनिक गरेको हो । सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रको टिजरमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने मुख्य भूमिकामा देखिनुभएको छ ।

प्रेम, विवाह र खुशीबाट सुरु हुने टिजरमा विनोदको प्रवेशसँगै धोका, वियोग र पीडाको कथा प्रस्तुत गरिएको छ । ग्रामीण परिवेश र मौलिक संस्कृतिलाई समेटिएको टिजरले दर्शकमा नोस्टाल्जिया जगाउने देखिन्छ ।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटालगायतका कलाकारको अभिनय छ । विजय र अञ्जनाको यो दोस्रो सहकार्य हो । यसअघि उहाँहरूले सफल चलचित्र ‘पूर्णबहादुरको सारंगी’मा सँगै काम गर्नुभएको थियो ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले तयार पार्नुभएको हो । सारंगी फिल्मस्को प्रस्तुतिमा बनेको चलचित्रका निर्माता नेम महर्जन हुनुहुन्छ । प्रशान्त सिवाकोटीको संगीत रहेको यो चलचित्र यही मंसिर १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यसको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार