एनपीएल फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं,
मंसिर ३ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित आज (बिहीबार) सुदूरपश्चिम रोयल्स र चितवन राइनोज दोस्रो क्वालिफायरमा आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

आजको खेलको विजेता टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ ।

अंकतालिकाको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल प्रवेशको अर्को अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो । यता, चितवनले बिहीबार भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

एलिमिनेटरमा पहिले ब्याटिङ गरेको चितवनले कमिल मिश्राको अविजित १२० रन र रवि बोपाराको ५३ रनको योगदानमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो। २०५ रनको लक्ष्य पछ्याएको काठमाडौं रिजन ढकालको चार तथा उसामा मिरको तीन विकेटसामु टिक्न नसक्दा १४३ रनमै समेटिएको थियो ।

एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गरेको चितवन त्यही लयलाई निरन्तरता दिँदै पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा छ । सुदूरपश्चिम भने पहिलो क्वालिफायरको हारलाई बिर्साउँदै फाइनलमा स्थान सुरक्षित गर्ने योजनामा मैदान उत्रनेछ ।

सुदूरपश्चिम लगातार दुई सिजन एनपीएलको उपविजेता बनेको टोली हो । पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक तेस्रो प्रयासमा उपाधि जित्ने लक्ष्यमा छ ।

अर्कोतर्फ, चितवनका लागि यो फाइनल प्रवेशको ऐतिहासिक अवसर हुनेछ । पहिलो पटक उपाधि नजिक पुग्ने लक्ष्यसहित मैदान उत्रने चितवनले सुदूरपश्चिमलाई हराउन सके फाइनलमा साविक विजेता लुम्बिनीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार